कर्णाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको सुशासन अभियानमा अहिलेसम्मकै रेकर्ड कायम गरेको बताए छन् ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको संयोजनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि सुरु भएको ‘कर्णालीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुसँगको परामर्श बैठक’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी सङ्ख्याले सानो भए पनि यसको नेतृत्वमा बनेको सरकारले भ्रष्टाचार विरुद्ध र सुशासन अभियानमा रेकर्ड कायम गरेको जिकिर गरे । यति ठूलो अभियान चलाएको देखेर विरोधी शक्तिहरुमा छटपटी पैदा भएको उनले बताए ।
“यसबाट नेपाली जनतामा आशा र उत्साह पैदा हुँदै गर्दा दलाल पूँजीपति, माफिया र सामन्तवादका अवेशषमा भने आतङ्क सिर्जना भयो”, उनले भने, “त्यसपछि नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त पक्राउ भए लगत्तै कांग्रेस र एमालेको एकथरी नेतृत्व छटपटिन थाल्यो । त्यसकै परिणाम स्वरुप दुई ठूला राजनीतिक शक्तिबीचको रातारात सहमतिबाट सरकार निर्माण भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले माओवादी सरकारबाट बाहिरिँदा जितेजस्तो र कांग्रेस–एमालेले हारेर नेतृत्व लिएजस्तो बनेको टिप्पणी गर्दै भने, “यो पार्टी र आन्दोलनका लागि ठूलो पूँजी हो । अब भने उनीहरू हामीलाई कमजोर बनाउने नाममा बलिदानपूर्ण सङ्घर्षमार्फत स्थापित गरेका एजेण्डासहितको संविधानमाथि प्रहार गर्न चाहन्छन् । हामीले अगाडि बढाएको भ्रष्टाचार विरुद्धको अभियानलाई निस्तेज कोसिस गर्दैछन् । ती सबै षड्यन्त्रका विरुद्ध जनतालाई सचेत बनाउन सुसङ्गठित पार्टी निर्माण गरेर अगाडि बढौँ ।”
सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिक क्षेत्रमा मिटरब्याजीको समस्या समाधान, हजारौँ नागरिकताविहीनलाई नागरिकता पाउने व्यवस्था मिलाउनुको साथै देशबाहिर तथा भित्र रहेका लाखौँ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी नयाँ आशाको जगाएको पनि उनले जनाए । माओवादी नेतृत्वको सरकार हुँदा अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गरे पनि अर्थतन्त्र पुनरुत्थानमा लिइएका नीतिगत पहलबाट अर्थतन्त्रमा देखिएका सङ्कट क्रमशः समाधान हुँदै अर्थतन्त्रले पुरानै लय समात्न थालेको उनको भनाइ थियो ।
FACEBOOK COMMENTS