काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकार नैतिक रूपमा ढलिसकेको टिप्पणी गरेका छन् ।
आज आइतबारको प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले अहिलको सरकार प्राविधिक रूपमा मात्रै देखिएको बताए ।
साथै, उनले लोकतन्त्रमाथि बाहिरबाट भन्दा सरकारबाटै खतरा रहेको पनि बताए ।
‘मैले भनेको थिएँ– सरकार आफ्नै कुशासनले ढल्छ भनेर । प्राविधिक रूपमा सरकार देखिए पनि नैतिक रूपमा सरकार ढलिसकेकै अवस्थामा छ,’ उनले भने, ‘तर, मेरो चिन्ता हिजो पनि थियो र आज पनि म त्यही भन्छु– सरकारको कार्यशैलीले तपाईंहरू मात्रै ढल्दै हुनुहुन्न, त्यसबाट लोकतन्त्रमाथि नै प्रहार शक्ति बढिरहेको छ । लोकतन्त्रमा बाहिरबाट भन्दा सरकारकै कारण बढी खतरा पैदा भएको छ ।’
उनले हरेक नियुक्ति र निर्णयहरूमा विचौलिया हाबी भएको तथा महिना दिनसम्म पनि गभर्नर नियुक्त गर्न नसकेको भन्दै दुई तिहाइको बेलुन फुटिसकेको दाबी गरे ।
‘महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन । दुई तिहाइको बेलुन त मैले फुटिसकेको देख्छु । हरेक नियुक्ति र निर्णयमा विचौलिया हाबी छन् । जनताले सेवा प्रवाह सहज रूपमा पाउन सकेका छैनन् । सार्वजनिक संस्थानहरूमा चरम राजनीतिकरण भइरहेको छ,’ प्रचण्डले भने,’ प्रचण्डले भने, ‘दश महिना बितिसक्दा पनि लोकका अगाडि गठबन्धन बनाउन जे भनेर सातबुँदे सहमति गर्नुभएको थियो, त्यसतर्फ कहीँकतै पनि ध्यान देखिँदैन । हिजो मैले खबरदारी गरेको थिएँ, आज त्यही कुरा तपाईंहरूको असन्तुष्टि बनेको छ ।’
प्रचण्डको भनाइ जस्ताको तस्तै–
मैले यसअघि सम्मानित संसदमा सरकारलाई खबरदारी गर्दै भनेको थिएँ– जनताप्रति सरकारको हदसम्म गैरजिम्मेवारी तर विचौलिया र स्वार्थसमूहको खुला तरफदारीले देश आक्रोशित छ । सत्तापक्षका मान्छेलाई कानुन मिच्न होइन, कानुन नै खान दिएको देखेर देश विचलित छ । उद्योगीबाट बिजुलीको अर्बौँ बक्यौता उठाउनै नखाजेको तर भुँइमान्छेका घरको लाइन काटेको देखेर रन्थनिएको देश पनि छ । त्यो आवेग र आक्रोश आज सामाजिक सञ्जालमा सीमित छ, तर मलाई चिन्ता छ, भोलि त्यो सडकमा पोखिन सक्छ । यही सत्य स्वीकार गरेर सरकार सुध्रियोस् ।
तर यो दश महिनामा सरकार सुध्रिएन, सुध्रिन चाहेन । किनभने सरकार सुध्रिनको लागि गठन भएकै थिएन । एउटा निश्चित वर्गको स्वार्थका लागि बनेको थियो । मैले त्यतिबेला यो भनिरहँदा सत्ता बहिर्गमनको छटपटी भनेर समेत टिप्पणी गरियो । तर, अहिले त यो तपाईंहरूकै भाष्य बनिनसक्यो । सरकार सञ्चालन संयन्त्रकै सदस्यहरूले नै प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच भनेर सार्वजनिक रूपमा नै भन्ने अवस्था सिर्जना भयो । महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन । दुई तिहाइको बेलुन त मैले फुटिसकेको देख्छु । हरेक नियुक्ति र निर्णयमा विचौलिया हाबी छन् । जनताले सेवा प्रवाह सहज रूपमा पाउन सकेका छैनन् । सार्वजनिक संस्थानहरूमा चरम राजनीतिकरण भइरहेको छ । दश महिना बितिसक्दा पनि लोकका अगाडि गठबन्धन बनाउन जे भनेर सातबुँदे सहमति गर्नुभएको थियो, त्यसतर्फ कहीँकतै पनि ध्यान देखिँदैन । हिजो मैले खबरदारी गरेको थिएँ, आज त्यही कुरा तपाईंहरूको असन्तुष्टि बनेको छ ।
मैले भनेको थिएँ– सरकार आफ्नै कुशासनले ढल्छ भनेर । प्राविधिक रूपमा सरकार देखिएपनि नैतिक रूपमा सरकार ढलिसकेकै अवस्थामा छ । तर, मेरो चिन्ता हिजो पनि थियो र आज पनि म त्यही भन्छु, सरकारको कार्यशैलीले तपाईंहरू मात्रै ढल्दै हुनुहुन्न, त्यसबाट लोकतन्त्रमाथि नै प्रहार शक्ति बढिरहेको छ । लोकतन्त्रमा बाहिरबाट भन्दा सरकारकै कारण बढी खतरा पैदा भएको छ ।
सरकारकै कार्यशैलीले जन्माएको असन्तुष्टिलाई प्रतिगामी र प्रतिक्रियावादीहरूले ऐतिहासिक बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रविरुद्ध कसरी प्रयोग गर्न पुगे भन्ने कुराको हामी साक्षी छौँ । म प्रश्न गर्न चाहन्छु– अहिले चौतर्फी रूपमा लोकतन्त्रमाथि सुनियोजित आक्रमण भइरहेको बेला सरकारले ल्याएको नीति तथा कार्यक्रमले झनै निराशा बढाउँदैन र ? सत्तारूढ दलका इमान्दार र लोकतन्त्रप्रति इमान्दार प्रतिवद्ध माननीयहरूसमेत यस पक्षमा गम्भीर विचार गर्न अनुरोध गर्छु ।
FACEBOOK COMMENTS