काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो रूपमा उभिन वाईसीएललाई निर्देशन दिएका छन् ।
सोमबार आफ्नो निवास खुमलटारमा वाईसीएलको नवनिर्वाचित पदाधिकारी टिमलाई स्वागत गर्दै प्रचण्डले निर्विरोध नेतृत्व चयन गरेकोमा खुसी व्यक्त गरे ।
प्रचण्डले वाईसीएल माओवादी केन्द्रको लडाकु सङ्गठन भएको बताउँदै पार्टीको आदेश पालन गर्ने स्पिरिटका साथ सहमति गरेकोप्रति सन्तोष व्यक्त गरेका थिए ।
प्रचण्डले हाल प्राप्त उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध सशक्त रूपमा उत्रन निर्देशनसमेत दिएका हुन् ।
‘प्रतिक्रियावादी प्रतिगमनकारीहरूले प्राप्त उपलब्धिलाई उल्टाउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन् । जनयुद्धको, माओवादी आन्दोलनको, वाईसीएलको, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने प्रयास भइरहेका छन्,’ उनले भने, ‘अब तपाईंहरूको टिम जनरल स्टाफजस्तै हो । तपाईंहरूले पार्टी नेतृत्व र आदेशमा सबैखाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो साबित गर्नुहुनेमा मैले विश्वास लिएको छु ।’
उनले पदाधिकारी बढी बनाएको भए पनि यसले सङ्गठनलाई चुस्त बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
FACEBOOK COMMENTS