काठमाडौं । नेपालमा गणित शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यले सुरू गरिएको अन्टरप्रेनरिअल म्याथ कार्यक्रमले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई गणित र उद्यमशीलतालाई एकसाथ जोड्ने अवसर प्रदान गरिरहेको छ ।
इम्बार्क अनम्याथ प्रालिद्वारा विकसित यो एकवर्षे कार्यक्रमले विद्यार्थीहरूलाई व्यापारिक योजना निर्माण, लगानी विश्लेषण, बजार अनुसन्धान र डेटा अध्ययन जस्ता क्षेत्रमा गणितको प्रयोग गराउन विशेष जोड दिन्छ ।
पारम्परिक कक्षाकोठाको चौकठबाट बाहिर निस्कँदै यो कार्यक्रम विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव दिलाउने खालको छ । गणितलाई केवल अङ्कगणना वा समीकरणमा सीमित नराखी, त्यसलाई जीवनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने अभ्यास यसमा गराइन्छ ।
कार्यक्रमको संरचना
३० कार्यदिवसमा समेटिएको यो कार्यक्रम ६ चरणमा विभाजित छ । प्रारम्भमा विद्यार्थीहरूलाई स्टार्टअप सोच, बजारको प्राथमिक बुझाइ र उद्यमशील अवधारणामा आधारित प्रतिस्पर्धात्मक विश्लेषण गराइन्छ । यस क्रममा उनीहरूले आफ्ना व्यावसायिक विचारहरू स्थापित उद्यमीहरूसँग संवाद गर्दै परिष्कृत गर्छन् ।
त्यसपछि सामर्थ्य (फिजिबिलिटी) र व्यावहारिकता (भिआबिलिटी) को मूल्याङ्कन, टिम निर्माण र सम्पूर्ण व्यावसायिक मोडेल तयार पार्ने चरणमा पुगिन्छ । विद्यार्थीहरू आफैँले बनाएको व्यापारिक अवधारणालाई व्यावसायिक योजनाको रूपमा प्रस्तुत गर्न सिक्छन् ।
स्टार्टअप फेस्ट २०२५
डिसेम्बरमा आयोजना हुने ‘स्टार्टअप फेस्ट २०२५’ मार्फत विद्यार्थीहरूले आफैँले निर्माण गरेका उत्पादन तथा सेवाहरू पिच गर्ने, बिक्री गर्ने र बजारको वास्तविक अनुभव लिने अवसर पाउने छन् । कार्यक्रममा सिकाइको समीक्षा, उपलब्धिको मूल्याङ्कन र भविष्यका योजनाहरू तयार पारिने छ । यस अवधिभर विद्यार्थीहरूले वित्तीय योजना, लगानीको मूल्याङ्कन, समस्या समाधान, बजार विश्लेषण लगायतका विषयमा अभ्यास गरेर गणितको व्यावहारिक पक्षमा गहिरो दक्षता हासिल गर्ने छन् ।
शिक्षामा रूपान्तरणको सङ्केत
प्राटोटाइप विकास, प्रि–रेभेन्यू योजना, उद्योग विशेषज्ञहरूसँग अन्तरक्रिया जस्ता अभ्यासहरूले विद्यार्थीहरूको आत्मविश्वास, नेतृत्व क्षमता र उद्यमशील सोचलाई मजबुत बनाउँछ । यस्तो किसिमको सिकाइले परीक्षामुखी शिक्षाभन्दा बाहिर गएर जीवनोपयोगी सीप र दृष्टिकोणको विकासमा टेवा पुर्याउँछ । हालसम्म संस्कृति इन्टरनेशनल स्कुल, युरो स्कुल हात्तीगौंडा र आलोक विद्याश्रम जस्ता शिक्षालयहरूले यो कार्यक्रम सञ्चालन गरिसकेका छन् ।
यसले के देखाउँछ भने नेपालमै नवीन, व्यावहारिक र सान्दर्भिक शिक्षाको अभ्यास सम्भव छ । विदेश जानु महँगो पर्ने अवस्थामा यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई यहाँकै अवसरको खोजी गर्न प्रेरित गर्दै देशको आर्थिक रूपान्तरणमा सक्रिय बनाउन सक्छ ।
कसरी सहभागी बन्ने ?
अन्टरप्रेनरियल म्याथ कार्यक्रम आफ्नै विद्यालयमा सञ्चालन गर्न चाहने संस्थाहरूले ललितपुरस्थित इम्बार्क अनम्याथ प्रालि, इम्बार्क कलेज, पुल्चोकमा सम्पर्क गर्न सक्ने छन् ।
FACEBOOK COMMENTS