काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार दलाल र बिचौलियाको स्वार्थमा चलेको आरोप लगाएका छन् ।
संसदमा विशेष सम्बोधन गर्दै उनले अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ ।’ अर्बौंको चलखेल उल्टाउन र सेटिङ भत्काउन खोज्दा बनेको गठबन्धन स्वयंले आफ्नो चरित्र प्रकट गरिसकेको उनको भनाइ छ ।
उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरूजस्ता घटनाहरूको उदाहरण दिँदै सरकारले नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको गम्भीर आरोप लगाए ।
स्टक एक्सचेञ्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै उनले सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न उठाए ।
अध्यक्ष प्रचण्डले भने, ‘सरकार कमिशन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक सङ्केत हो ।’
FACEBOOK COMMENTS