काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक यात्रा र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालको आर्थिक यात्रा उस्तै उस्तै भएको बताएका छन् ।
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमांडू मर्ज भई एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्। बाग्लुङको एउटा सामान्य ग्रामिण किसानको परिवारबाट आएका चन्द्र ढकालले छोटो समयमै आर्थिक क्षेत्रमा ठूलो उपलब्धि हाँसिल गरेको प्रचण्डले बताए ।
प्रचण्डले भने बागलुङको ग्रामिण ठाउँबाट आएर व्यावसायमा मारेको फड्को मेरो राजनैतिक जिवनसँग तुलना गर्छु। गाउँको सामान्य कृषकबाट तपाईंको अहिलेको व्यावसायिक उचाइ र मेरो राजनैतिक यात्रा उस्तै उस्तै हो।
प्रधानमन्त्रीले नयाँ सरकार गठनसँगै पुँजीबजार र अर्थतन्त्रमा देखिएको आशालाई विश्वासमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पुँजीबजार र अन्य क्षेत्रका लगानीकर्ताले देखाएको विश्वासलाई निराशामा परिणत नगर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण सरकारको प्राथमिकतामा पर्नेछ’, उनले भने, ‘अर्थतन्त्रलाई वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयनबाट माथि उकासिनेछ।’ ‘आजको दिनमा पनि हामी आर्थिक विषयमा केन्द्रित रही निरन्तर संवाद गरिरहेका छौँ’, प्रचण्डले भने, ‘अर्थतन्त्रमा तत्काल सुधार र नतिजामुखी काम गर्नुपर्नेछ।’
प्रधानमन्त्री प्रचण्डले बैंक तथा वित्तीय संस्था आर्थिक क्षेत्रका संवाहक रहेका उल्लेख गर्दै बैंक सबल भएमात्र अर्थतन्त्र सबल हुने बताए।
FACEBOOK COMMENTS