काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जलस्रोतको दोस्रो धनी देश भनेर चिनिने नेपालमा खानेपानीका लागि जनताले आन्दोलन गर्नुपर्ने अवस्था दुखद् रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको चौथो अधिवेशनसहितको छैटौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सुरक्षित खानेपानी आपूर्ति र सरसफाइले आर्थिक उन्नतिको जग निर्माण गर्ने भए तापनि अझै खानेपानी तथा सरसफाइको क्षेत्रमा चुनौतीहरू रहेको बताए ।
उनले भने, ‘नेपालको आर्थिक-सामाजिक विकासमा खोनपानी र सरसफाइ क्षेत्रको महत्त्व हामी सबैलाई अवगत नै छ । सुरक्षित खानेपानी आपूर्ति र सरसफाइले आर्थिक उन्नतिको जग निर्माण गर्दछ । तर, अझै खानेपानी तथा सरसफाइको क्षेत्रमा केही चुनौतीहरू यथावत् नै छ । जलस्रोतको धनी देश नेपाल भनेर गौरव गर्छौं तर जनता पानीको लागि आन्दोलन गर्छन् ।’
उनले खानेपानी तथा सरसफाइको क्षेत्रमा नयाँ सोच र दृष्टिकोणका साथ अगाडि बढ्ने मार्गचित्र महासंघले तयार गरिरहेकामा धन्यवाद दिए ।
मन्त्रालय एक्लैले मात्र खानेपानीको समस्या समाधान गर्न नसक्ने भएकाले महासंघ र मन्त्रालयको सहकार्यमा खानेपानीको आपूर्ति गर्न सफल हुने उनको भनाइ छ ।
FACEBOOK COMMENTS