काठमाडौं । नेपाल मजदुर पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले मल आयातका लागि भारतसँग जीटूजी गरिएको भए पनि वर्तमान पाँच दलीय गठबन्धनको सरकारले आपूर्ति गर्न नसकेको बताएका छन् ।
नेकपा एमालेका सचेतक विशाल भट्टराईले प्रतिनिधि सभामा राखेको मल अभावसम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसद सुवालले सो कुरा बताएका हुन् ।
‘रोपाइँ शुरु भयो मल छैन । गत फागुनमा भारतसँग जीटूजी गरियो । तर, पाँच दलीय गठबन्धन सरकारले मल आपूर्ति गर्न सकेन,’ सांसद सुवालले भने, ‘प्र्रधानमन्त्री शेरबहादुर देउवाजीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनीमा ध्यान गर्न निम्तो गर्नुभयो । ध्यान सकिएपछि ६०४ मेगावाटको अरुण–४ उपहार दिनुभयो । तर, जीटूजी अनुसार मल किन पठाउनुभएन भनी शीर ठाडो बनाएर जिज्ञासा राख्नुभएन । यसैको परिणाम हो मल अभाव ।’
‘मल नपाउँदा किसानहरू मानसिक तनावमा छन् । यसको क्षतिपूर्ति प्रधानमन्त्री, मन्त्री र गठबन्धनमा सहभागी दलका नेताहरूले दिनुपर्छ,’ उनले भने ‘मल कारखाना स्थापना र सञ्चालनका लागि अध्ययन गर्न भन्दै २०४१ साल यता ४–५ वटा बजेटमा उल्लेख भएका छन् । तर कुनै पनि सरकारले मल कारखाना स्थापना गर्न सकेन ।’ मल खरीदमा अरबौं रुपैयाँ कमिशन खान पाउने भएर नै सरकारहरू मल कारखाना स्थापना गर्न नलागेको जनगुनासो रहेको सांसद सुवालको भनाइ छ ।
बंगलादेश, पाकिस्तान र रुससँग मल, तेल र ग्यास खरीद गर्न कुटनीतिक पहल गर्न जरुरी रहेको उनको भनाइ छ । विश्वमा १६ प्रतिशत मल आपूर्ति गर्ने रुस भएको बताउँदै उनले संयुक्त राष्ट्र संघमा गठबन्धन सरकारले रुसको विपक्षमा मतदान गरेको कारण नेपालमा मल अभाव भएको सुवालको भनाइ छ ।
FACEBOOK COMMENTS