काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपालीहरूले हालसम्म सही ढङ्गले नुन खान नजानेको बताएका छन् ।
आज सोमबार काठमाठौंमा आयोजित उपभोक्ता सुरक्षाबारेको अन्तरक्रिया कार्यक्रममा उनले नेपालीहरूमा नुनबारेको ज्ञान नरहेको बताएका हुन् ।
‘हामी नेपाली जनताले नुन नै खान जानेका छैनौँ । तपाईंहरूले अहिलेसम्म नुन खान जान्नुभएको छैन,’ अध्यक्ष महर्जनले भने, ‘युवाहरूको घरमा नुन धोएर खाने, ढिक्के नुन पखालेर खाने, आयो नुन बढी भयो भन्ने, ८० प्रतिशत प्रिमियम आयो भनेर हल्ला गर्ने, उजुरी गर्न नजाने हामी, अनि हामीले नुन खान कहाँ जानेका छौँ ? अनि नुनको बारेमा हामीले के पढ्यौँ त ?’
हाल नुनको आपूर्ति र बिक्री–वितरणको अधिकार निजी क्षेत्रलाई सुम्पने तयारी भइरहेको चर्चातर्फ लक्ष्य गर्दै उनले यसले नुनको आपूर्ति व्यवस्थापनमा समस्या हुने सङ्केत गरे ।
साल्ट ट्रेडिङ कर्पोरेशनको स्थापनाअघि वि.स. २००९ सालमा निजी क्षेत्रले नै नुनको कारोबार गर्ने गरेको तर कालोबजारी हुने गरेको स्मरण गर्दै उनले इतिहास बिर्सन नहुने बताए ।
२०२० सालमा साल्ट ट्रेडिङको स्थापनापछि नै नुनको कारोबार व्यवस्थित हुन थालेको भन्दै उनले यसलाई निरन्तरता दिनुपर्ने बताए ।
FACEBOOK COMMENTS