काठमाडौं । काठमाडौं जिल्ला अदालतले प्रधानमन्त्री वालेन्द्र शाह ’बालेन’विरुद्ध परेको गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरिदिएको छ ।
खोटाङ घर भई हाल काठमाडौं बस्ने नेविसंघका नेता विकल राईले दायर गर्न ल्याएको फिरादलाई अदालतका श्रेस्तेदारले दर्ता गर्न नमिल्ने भन्दै फिर्ता गरिदिएका हुन् ।
प्रधानमन्त्री बालेन साहले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत देशको भविष्य बोक्ने विद्यार्थीहरूलाई (स्लिपर सेल) भनी सम्बोधन गरेको भन्दै राईले आपत्ति जनाएका थिए । उक्त शब्दले विद्यार्थी समुदायको मानमर्दन र गाली बेइज्जती भएको दाबी गर्दै राईले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ र ३०७ बमोजिम कारबाहीको माग गरेका थिए ।
विकल राईका अनुसार प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले देश बनाउने सपना बोकेका विद्यार्थीहरूलाई आतंककारी गतिविधिमा संलग्न समूहलाई प्रयोग गरिने शब्द (स्लिपर सेल) भन्नु घोर अपमानजनक छ ।


