काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद डा. पुष्पराज कँडेलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्च विवरण अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद कँडेलले विपद् व्यवस्थापनका लागि परिचालन गरिएको आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठाएका हुन् । देशमा बारम्बार विपत्ति आइपर्ने गरेको र त्यसको व्यवस्थापनका लागि नागरिक तथा विभिन्न निकायबाट संकलित रकमको सदुपयोगबारे संसद् नै अनभिज्ञ रहेको उनले बताए ।
कोषमा हालसम्म कति रकम संकलन भयो र सो रकम कुन–कुन शीर्षकमा कसरी खर्च गरियो भन्ने यथार्थ विवरण संसद्लाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो ।
सांसद कँडेलले स्थानीय तह, प्रदेश सरकार तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसम्म कति बजेट पुग्यो र त्यसको प्रभावकारिता कस्तो रह्यो भन्ने लेखाजोखा अहिलेसम्म स्पष्ट नभएको बताए ।
बैठकमा बोल्दै उनले भने, ‘विपत्तिमाथि विपत्ति आइरहेको सन्दर्भमा कोषहरूको यथार्थ विवरण सार्वजनिक नहुनु दु:खद् छ । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र राहत कोषको खर्चको स्पष्ट विवरण यो सम्मानित संसद्मा पेश हुनुपर्छ ।’

विपद्का समयमा संकलन हुने रकमको पारदर्शी लेखाजोखाले मात्र नागरिकको सरकारप्रतिको विश्वास अभिवृद्धि हुने तर्क उनले गरे ।
