काठमाडौं । सम्पत्ति छानबिन आयोगले न्यायाधीश र सैनिक अधिकारीहरूबाहेक अरूको हकमा सम्पत्ति छानबिन नरोकिने स्पष्ट पारेको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै आयोगले सर्वोच्च अदालतको बहालवाला तथा पूर्वन्यायाधीश अनि बहालवाला र पूर्वसैनिक अधिकारीको हकमा मात्रै जाँचबुझ स्थगित भएको र अन्यको हकमा खुला रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगको नाममा २६ असारमा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै मुद्दा पूर्ण इजलासमा पठाएपछि आयोगको काम रोकिने कि नरोकिने अन्योल भएपछि विज्ञप्ति जारी गरेर स्पष्ट पारेको हो ।
उक्त आदेशमा नेपालको संविधानको धारा २३९ को उपधारा (१) को प्रतिबन्धात्मक वाक्यांसमा उल्लेख भएबमोजिम संविधानमा छुट्टै व्यवस्था भएका बहालवाला न्यायाधीश वा नेपाली सेना वा आयोगको कार्यक्षेत्रमा नपरेका अन्य पदाधिकारी र कर्मचारीको हकमा मात्र भनिएको आयोगको जिकीर छ ।
