काठमाडौं । सामसङ नेपालले बजारमा नयाँ ग्यालेक्सी ए२७ फाइभ–जी स्मार्टफोन सार्वजनिक गरेको छ ।
कम्पनीले कृत्रिम बौद्धिकता (एआई)मा आधारित सुविधा, उच्चस्तरीय डिस्प्ले, दीर्घकालीन सफ्टवेयर समर्थन तथा ब्याजरहित किस्ता योजनासहित नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको जनाएको छ ।
सामसङ नेपालका एमएक्स व्यवसायका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी ए सिरिजमार्फत अत्याधुनिक एआई प्रविधिलाई धेरैभन्दा धेरै प्रयोगकर्तासम्म पहुँचयोग्य बनाउने कम्पनीको लक्ष्य रहेको बताए । उनका अनुसार, नयाँ ग्यालेक्सी ए२७ फाइभ–जीले दैनिक प्रयोगका लागि भरपर्दो कार्यसम्पादन प्रदान गर्नुका साथै २४ महिनासम्मको ब्याजरहित किस्ता सुविधाले स्मार्टफोन खरिदलाई अझ सहज बनाउनेछ ।
ग्यालेक्सी ए२७ फाइभ–जीमा ६.७ इन्चको एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा इन्फिनिटी–ओ डिजाइन समावेश गरिएको छ । यो फोन लाइट ग्रिन, लाइट पिंक र ब्ल्याक रङमा उपलब्ध हुनेछ ।
फोनमा चार नानोमिटर प्रविधिमा आधारित स्न्यापड्रागन ६ जेन–३ प्रोसेसर प्रयोग गरिएको छ, जसले गेमिङ, भिडियो स्ट्रिमिङ, बहुकार्य सञ्चालन तथा एआई एप प्रयोगमा सहज कार्यसम्पादन गर्ने कम्पनीले जनाएको छ ।
सामसङका अनुसार, स्मार्टफोनमा भ्वाइस ट्रान्सक्रिप्सन सुविधा, गुगल जेमिनी तथा पप्र्लेक्सिटीजस्ता एआई सहायकको समर्थन उपलब्ध छ । यी सुविधाले मिटिङ, कक्षा तथा दैनिक नोटहरू व्यवस्थित गर्न सहयोग गर्ने कम्पनीको दाबी छ ।
ग्यालेक्सी ए२७ फाइभ–जीमा ५० मेगापिक्सेल अप्टिकल इमेज स्टेबलाइजेसनयुक्त मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा, २ मेगापिक्सेल म्याक्रो क्यामेरा तथा १२ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । फोनमा पाँच हजार एमएएच क्षमताको ब्याट्री, २५ वाट फास्ट चार्जिङ, एन्ड्रोइड १६ मा आधारित वन यूआई ८.५, सामसङ नक्स भल्ट सुरक्षा प्रणाली तथा आईपी–६४ स्तरको पानी र धुलो प्रतिरोधी सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जीको ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ५५ हजार ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ६९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले १२ र २४ महिनासम्मको ब्याजरहित किस्ता सुविधा उपलब्ध गराएको छ । २४ महिनाको योजनाअन्तर्गत ग्राहकले मासिक एक हजार ५१९ रुपैयाँदेखि किस्ता तिरेर स्मार्टफोन खरिद गर्न सक्नेछन् ।
कम्पनीले पुरानो स्मार्टफोन साटेर नयाँ ग्यालेक्सी ए२७ फाइभ–जी खरिद गर्ने ग्राहकलाई पुरानो फोनको मूल्यांकनबाहेक थप आठ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध गराउने जनाएको छ । साथै, ग्राहकले १२० जीबी एनसेल डाटा उपहार पनि प्राप्त गर्नेछन् ।