काठमाडौं । नेपालमा प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा आफ्नो नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ ।
सोरुम शुभारम्भको अवसरमा कम्पनीले ‘द अल–न्यू प्रोटोन इ.मास ५’ समेत सार्वजनिक गरेको छ ।
नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ.मास ५ ले सहरी जीवनशैली र दैनिक यात्रालाई थप सहज, स्मार्ट तथा आधुनिक बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
हालै मलेसियामा आयोजित ‘अलियान्ज डीएसएफ भेहिकल अफ द इयर अवाड्र्स २०२६’मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ को उपाधि जितेको प्रोटोन इ.मास ५ लाई अत्याधुनिक प्रविधि, स्मार्ट सुविधा र बौद्धिक डिजाइनको संयोजनका रूपमा प्रस्तुत गरिएको छ ।


इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो उपलब्ध छन् । त्यस्तै, ७० लिटरको अगाडिको फ्रंक, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेका छन् । यी सुविधाले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म आवश्यक व्यावहारिकता र सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।
कार्यक्रममा देखिएको सहभागिताले जनकपुर तथा आसपासका क्षेत्रमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण र दिगो यातायातप्रतिको चासोलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा जगदम्बा मोटर्सका वरिष्ठ महाप्रबन्धक सुशील क्षेत्रीले प्रोटोनसँगको साझेदारीलाई निरन्तरता दिँदै जनकपुरका ग्राहकहरूमाझ इ.मास ५ सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए ।

उनले आधुनिक प्रविधि, सुरक्षा, व्यावहारिक उपयोगिता तथा आकर्षक मूल्यको संयोजनका कारण इ.मास ५ यस क्षेत्रका ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।
जगदम्बा मोटर्सका अनुसार भक्तपुरबाट सुरु भएको इ.मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै जनकपुरसम्म पुगेको हो । वीरगन्जमा हुने कार्यक्रमसँगै अभियानको अर्को चरण पूरा हुने जनाइएको छ । कम्पनीले नेपालभर रहेका ११ वटा प्रोटोन सोरुममार्फत इ.मास ५ ग्राहकसमक्ष पुर्याउने योजना रहेको जनाएको छ ।
प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । जनकपुरमा आयोजित क्षेत्रीय सार्वजनिककरणको अवसरमा प्राइम भेरियन्टको विशेष सुरुआती मूल्य ३२ लाख ९९ हजार तथा प्रिमियम भेरियन्टको विशेष सुरुआती मूल्य ३६ लाख ९९ हजार तोकिएको कम्पनीले जनाएको छ ।