काठमाडौं । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारीहरूलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ ।
बिहीबार (वैशाख ३१) एक सूचना जारी गर्दै आयोगले आफू र परिवारका सदस्यहरूको नेपाल र विदेशमा रहेको सम्पत्तिको विवरण बुझाउन आग्रह गरेको छ । सूचनाअनुसार २०६२ सालयताका सार्वजनिक पदाधिकारीहरूले सम्पत्ति विवरण बुझाउनुपर्नेछ ।
आयोगले सार्वजनिक पदाधिकारीहरूले गैरकानुनी रूपमा सम्पत्ति कमाएको भेटिएमा उजुरी दिन समेत सर्वसाधारणलाई आग्रह गरेको छ । आयोगले भ्रष्टाचार वा अरु अपराध गरेर सम्पत्ति कमाउने पदाधिकारीका विषयमा पनि उजुरी दिन भनेको छ ।
जसअनुसार सार्वजनिक जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी र कर्मचारीहरूले अस्वभाविक रूपमा गरेको आर्जनबारे सूचना दिन सकिनेछ । शंकास्पद व्यक्तिको सम्पत्ति, सम्पर्क नम्बर र इमेल समेत उपलब्ध गराइदिन आयोगले सूचनामा भनेको छ । हुलाक र इमेलबाट पनि उजुरी दिन सकिनेछ । उजुरीमा प्राप्त नाम, वतनसहितको परिचय गोप्य राखिने आयोगले जनाएको छ ।

