काठमाडौँ । विश्वकै दोस्रो अग्लो हिमाल पाकिस्तानस्थित ‘माउन्ट केटु’को सफल आरोहण गरि फोटो पत्रकार पूर्णिमा श्रेष्ठ आज बिहान नेपाल आइपुगेकी छिन् । पूर्णिमाले गत साउन ११ गते ८ हजार ६ सय ११ मिटर अग्लो केटु हिमालको सफलतापूर्वक आरोहण गरेकी थिइन् ।
चौध वटा अग्ला हिमालमध्ये सबैभन्दा काठिन मानिने केटुलाई माउन्टेन किलर भनेर समेत चिनिन्छ । ६ वर्ष अघि पर्वतारोहणको यात्रा सुरु गरेकी पूर्णिमाले यस अघि नै नेपालमा रहेका ८ हजार मिटर माथिका ७ वटा शिखर आरोहण गरी सकेकी छिन् ।
पूर्णिमाले नेपाली कम्पनी एट के एक्स्पिडिसन्सबाट आरोहण गरेकी हुन्। आज स्वदेश फकिएकी उनलाई विमानस्थलमा स्वागत गरिएको थियो ।
विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने अभियानमा रहेकी गोरखाकी पूर्णिमा माउन्ट केटु आरोहणका निम्ति जेठ अन्तिम साता पाकिस्तान लागेकी थिइन् । ७५ दिनको यो लामो आरोहण उनले ३० जेठदेखि सुरु गरेकी थिइन् । उनले इस्लामाबाद हुँदै उक्त हिमाल चढेकी हुन् । ८ हजार ६ सय ११ मिटर उचाइको यो हिमाल चढ्ने नेपाली महिलामा उनी चौथो हुन् ।
माउन्ट केटु आरोहणका लागि जोखिमयुक्त हिमालका रुपमा चिनिन्छ। त्यसैले यसलाई किलर माउन्टेनको समेत उपमा दिइएको छ ।
विश्वका ८ हजार मिटर अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमै छन् । श्रेष्ठले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन् । यहाँको चोयु उनी चढ्न बाँकी छ । भौगोलिक जटिलता र विविध कारणले नेपालबाट चोयु आरोहणको अनुमति खुलाइएको छैन । यो हिमाल तिब्बततिरबाट चढ्नुपर्छ ।
पूर्णिमा अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । २०७९ जेठ २० गते शुक्रबार नेपालका ८ हजार मिटर अग्लो ७ वटा हिमाल चढ्ने पहिलो नेपाली महिला आरोहीको कीर्तिमान पनि बनाइ सकेकी छिन् ।
उनले ६ वर्षअघि आफ्नै जिल्ला गोरखाकै मनास्लु हिमालबाट आरोहण सुरु गरेकी हुन् । उनले विभिन्न कठिनाइ हण्डर र ठक्कर सबैको अनुभव बटुल्दै २२ दिनमा असोज १२ गते (सेप्टेम्बर २६) सन् २०१७ मा पहिलोपल्ट आठ हजार एक सय ६३ मिटरको मनास्लु हिमालको चुचुरोमा पुग्न सफल भएकी थिइन् । त्यस्तै सन् २०१८ मे १९ मा उनले सर्वोच्च शिखर (८८४८.८६ मिटर) सगरमाथाको सफल आरोहण गरिन् । त्यसै गरी सन् २०२१ अप्रिल १६ मा अन्नपूर्ण (८,०९१ मिटर) प्रथम र २०१९ नोभेम्बर १० आमादब्लम हिमालको सफल आरोहणको गरेकी थिइन् । साथै धौलागिरि (८१६७ मिटर) आरोहण सन् १ अक्टोबर २०२१ मा गरेकी थिइन् भने कञ्चनजङ्घा (८५८६ मिटर) ०५ मे २०२२ मा गरेकी थिइन् । त्यस्तै ल्होत्से (८,५१६ मिटर) शिखर १६ मे २०२२ र मकालु (८४८१ मिटर) २७ मे २०२२ मा सफल आरोहण गरेकी थिइन् ।
गोर्खा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ मा श्रेष्ठ जन्मिएकी हुन् । उनी चन्द्रप्रसाद र गंगाकी एकमात्र छोरी हुन् । पूर्णिमा पेसाले फोटो पत्रकार हुन् । उनले २०७५ जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेर उनको अदम्य साहसको सर्वत्र प्रशंसा सुरु भएको थियो ।
FACEBOOK COMMENTS