काठमाडौँ । प्यूठान जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदाको सांगीतिक वृतचित्र प्रदर्शन गरेको छ ।
शनिबार काठमाडौंको बागबजारस्थित सिटी म्याक्स सिनेमा हलमा उक्त सांगीतिक वृतचित्र प्रदर्शन सम्पन्न भएको हो ।
प्रमुख धार्मिक तीर्थस्थल स्वर्गद्वारी, गौमुखी, नौबहिनी, झिमरुक नदी, ऐरावतीलगायतका प्यूठानका प्रमुख सम्पदाहरू समावेश गरिएको उक्त वृतचित्र त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभागका उपप्राध्यापक डा. राजन पासाले तयार पारेका हुन् ।
प्यूठानको बाङ्गेशालमा जन्मिएका पासाले तीन वर्ष लगाएर उक्त वृतचित्र तयार पारेका हुन् । शिक्षा र ग्रामीण विकासमा विद्यावारिधि गरेका उनले करिब साढे तीन वर्ष लगाएर उक्त वृतचित्र तयार पारेका थिए ।
धार्मिक एवम् पर्यटकीयस्थल गौमुखीको काखबाट सुरु भएको उक्त सांगीतिक वृतचित्रमा नौबहिनी झरना, लुङ्गका रिजाल बन्धुको सभ्यता एवम् कुलपूजा, झिम्रुक फाँट–नदी, प्यूठान नगरपालिकाका सुन्दर बस्ती, मल्लरानीका विभिन्न सम्पदा, प्रमुख धार्मिक तीर्थस्थल स्वर्गद्वारी, माण्डवी, ऐरावती र सरुमारानीका विभिन्न प्राकृतिक एवम् मनोरम दृश्यालाप गर्न सकिन्छ ।
‘जिल्लैभरि सँगसँगै घुम्दै रमाउँला’ स्लोगनका साथ तयार पारिकएको उक्त सांगीतिक वृत्तचित्रमा राजन पासा र नीना बुढामगरले अभिनय गरेका छन् भने गीतमा स्वर राजन पासा र तृप्ती खड्का गुरुङको रहेको छ ।
प्रतिनिधिसभाका सांसद् सूर्य थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रदर्शनीमा वरिष्ठ कलाकार हरिहर शर्मा, साहित्यकार जीवराज भट्टराई, प्राडा।प्रेम शर्मा, कलाकार बेगम नेपाली’भटभटे माइलो’, गोरखा पालुङ्टार नगरपालिकाकी उपमेयर बन्दना पाण्डे, माओवादी केन्द्रका नेता कुलमान गिरी, अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष धर्म गिरी, अधिवक्ता विमल पोखरेल, समीर सिंह, अस्मिता केसी, समुन्द्र गिरी, ध्रुव बस्याल, विपी बडाललगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा वृतचित्र तयार तथा विभिन्न कुरामा योगदान दिनेहरूलाई कदरपत्र तथा मायाको चिनोले सम्मान गरिएको उक्त कार्यक्रमका सञ्चालक सञ्चारकर्मी दुर्गाराज पाण्डेले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद् थापाले प्यूठानका सम्पदा संरक्षण र जिल्लाको पर्यटन पर्वद्धनमा आफू सधैं प्रतिवद्ध रहेको बताएका थिए ।
भौगोलिक कठिनाइका कारण सडक विस्तार हुन नसक्दा स्वर्गद्वारीजस्ता पर्यटकीय स्थलमा पर्यटक जान डराउने अवस्था भएको जनाउँदै यसको समाधानका लागि आफू सक्दो पहल गर्ने उनले बताए ।
उक्त सांगीतिक वृत्तचित्र आउँदो कार्तिक महिनामा राजन पासाकै युट्युब च्यानमार्फत् सार्वजनिक गरिने पासाले जनाएका छन् ।
FACEBOOK COMMENTS