काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक लुम्बिनी प्रदेश अन्तर्गतको एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान चर्चामा रहेको छ । यस क्षेत्रमा नेकपा एमालेबाट सुर्य थापा र नेपाली काँग्रेसबाट डा। गोविन्दराज पोखरेल उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
प्युठानमा दुई नगरपालिकासहित ९ स्थानीय तह रहेका छन् । जसमा प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिकासहित ऐरावती गाउँपालिका, गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका, नौहिनी गाउँपालिका, मल्लरानी गाउँपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिका रहेका छन् ।
निर्वाचन आयोगका अनुसार प्यूठान मा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ६५ हजार ४०६ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा २३० मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ को निर्वाचनमा प्युठानबाट नेकपा एमालेका सुर्य थापा विजयी भएका थिए । थापाले ४१ हजार ११८ मत प्राप्त गरेका थिए । दोस्रो भएकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८१४ मत प्राप्त गरेकी थिइन् । उनलाई काँग्रेस-माओवादी केन्द्रसहितको गठबन्धनले समर्थन गरेको थियो । त्यस्तै यस क्षेत्रमा रास्वपाका कृष्ण प्रसाद पोख्रेलले ३ हजार ३१८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी २०७९ को समानुपातिकतर्फ प्युठानमा नेकपा एमालेले ३३ हजार ८०४ मत पाएको थियो भने काँग्रेसले १७ हजार ८५१ मत पाएको थियो । त्यस्तै माओवादी केन्द्रले १३ हजार ३०३ र जनमोर्चाले ९ हजार ९५९ मत पाएको थियो । त्यस्तै रास्वपाले ५ हजार ८५१ मत पाएको थियो ।

उम्मेदवार– २०८२

यस निर्वाचनमा प्युठानमा राजनीतिक दल र स्वतन्त्र गरेर १४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । नेकपा एमालेबाट सुर्य थापा फेरी उम्मेदवार बनेका छन् । त्यस्तै काँग्रेसबाट डा। गोविन्दराज पोखरेल उम्मेदवार बनेका छन् । त्यस्तै नेकपाबाट कृष्ण ध्वज खड्का र रास्वपाबाट सुशान्त वैदिक उम्मेदवार बनेका छन् । त्यस्तै राप्रपाबाट धनेश्वर पण्डित र राष्ट्रिय जनमोर्चाबाट तिलकबहादुर जिसी उम्मेदवार बनेका छन् ।

निष्कर्ष

अघिल्लो निर्वाचनमा काँग्रेस(माओवादी केन्द्र र जनमोर्चाको गठबन्धन रहेको बेला एमालेका सुर्य थापाले सजिलै चुनाव जितेका थिए । संगठनका हिसाबले एमालेको बलियो पकड मानिएको प्युठानमा यस पटक सबै दल अलग अलग चुनावी मैदानमा रहेकाले यस पटक थापालाई सहज नै हुने आकलन गरिएको छ ।
सुर्य थापाको मुख्य चुनौती भनेको देशभर आमरुपमा एमालेप्रतिको नकारात्मक वातावरण हो । यसको असर प्युठानमा कति पर्छ र मतदाताले कसरी हेर्छन् त्यसकै आधारमा थापाको जितको अधार तय हुने छ । त्यसो त काँग्रेसका उम्मेदवार पोखरेल पनि बलिया उम्मेदवार हुन् । अघिल्लो चुनावमा गठबन्धनका कारण उम्मेदवार बन्न नपाएका पोखरेल २०७४ मा जनमोर्चाकी दुर्गा पोखरेलसँग पराजित भएका थिए । प्युठानमा रास्वपाको पनि उल्लेख्य प्रभाव देखिएपनि मुख्य प्रतिष्पर्धा भने थापा र पोखरेलबीच नै हुने देखिन्छ ।
FACEBOOK COMMENTS