काठमाडौं । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध गरेको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आजका लागि तोकिएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।
यसअघि २० कात्तिकको इजलासले सुरू मिसिल मगाउने आदेश दिएको थियो । सुरू मिसिल प्राप्त भएपछि आजका लागि पेशी तोकिएको हो ।
यसअघि १३ कात्तिकमा तोकिएको पेशी छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो ।
बिगोबमोजिमको रकम बुझाई थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले रविसँगै छविलाल जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।


FACEBOOK COMMENTS