काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भैरहवामा आज (बिहीबार) तेस्रो दिन पनि बयान लिने कार्य भइरहेको छ ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलन गरेको आरोपमा लामिछानेलाई पोखराबाट भैरहवा लगेर अनुसन्धानका लागि बयान लिने कार्य भइरहेको हो ।
लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजो (बुधबार) देखि लिखित बयान लिन सुरू गरिएको हो । हिजो १० घण्टा बयान लिइएको थियो भने आज बयान सकेर उनलाई पोखरा पठाइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एक प्रहरी अधिकृतले बताए ।
मंगलबार कास्कीको पोखराबाट रूपन्देहीको भैरहवा लगिएका लामिछानेसँग सरकारी वकिलको कार्यालय रूपन्देहीले मंगलबार पहिलो दिन मौखिक बयान लिएर हिजोदेखि लिखित बयान सुरू गरेको थियो ।
लामिछानेलाई बयानका लागि रूपन्देही लगिएपछि सहकारीपीडित र रास्वपाका कार्यकर्ताले भैरहवामा प्रर्दशन गरेका छन् ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
FACEBOOK COMMENTS