काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान अन्तिम चरणमा पुगेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा उनको बयान भइरहेको छ र बयान आजै सक्ने तयारी गरिएको हो ।
कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याइएका लामिछानेको काठमाडौंमा शुक्रबारदेखि नै बयान भइरहेको छ ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरूद्ध पक्राउ अनुमति लिएको थियो ।
त्यसअनुसार लामिछानेलाई कास्कीबाट १३ मंसिरमा काठमाडौं ल्याइएको थियो ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जीबी राईको नाममा दुई पटक गरेर ४६÷४६ लाख रूपैयाँ ऋण गएको अनुसन्धानबाट खुलेको छ । लामिछाने चढ्ने गाडी खरिदका लागि यो ऋण लिएको पाइएको छ ।
बयानपछि लामिछानेलाई फेरि प्रहरीले पोखरा लैजाने छ ।
सुरूमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारीलगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।
FACEBOOK COMMENTS