काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलको कार्यालयबाट जवाफी बहस सुरू भएको छ ।
केहीबेर अगाडिदेखि कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजालसमा जवाफी बहस सुरू भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद सूर्यदर्शन सहकारीकी संस्थापक उपाध्यक्ष मीना गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरूङको थुनछेक बहस सकिएपछि हिजोदेखि जवाफी बहस सुरू भएको हो ।
सहकारीपीडितका तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, हरि कट्टेल, रमन कर्ण र बीबी विष्टले बहस गरेका थिए ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको मुद्दामा सरकारी वकिलको कार्यालयको जवाफी बहस सकिएपछि थुनछेक आदेश आउने कास्की जिल्ला अदालतका सूचना अधिकारी सूरज अधिकारीले बताए । आज थुनछेक आदेशको सम्भावना रहेको उनको भनाइ छ ।
पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने या तारेखमा छाडेर मुद्दाको छिनोफानो गर्ने थुनछेक आदेशले तय गर्नेछ ।
सूर्यदर्शन सहकारीको १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रूपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले पुस ७ गते जिल्ला अदालत कास्कीमा ४४ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दायर गरेको हो ।
सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा बचतकर्ताले प्रहरीमा उजुरी दिएपछि गत वर्षको असोज १८ गते जीबी राईलगायत १९ जनाविरूद्ध मूल मुद्दा दर्ता भएको थियो । जीबी राईसहित १९ जनाविरूद्ध पुस ५ गते पनि थप अभियोजन दर्ता गरिएको हो ।
FACEBOOK COMMENTS