काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनमा बहुमत आए डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने घोषणा गरेका छन् ।
उनले सोमबार कार्यक्रममा पार्टीका उपसभापति वाग्लेलाई सम्बोधन गर्दै भने, ’डाक्टर साहब, आउने वर्षको बजेट लेख्न सुरू गर्नुहोस् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरेर चुनावमा जान लागेको रास्वपाले पहिलो पटक डा. वाग्लेलाई अर्थमन्त्री बनाउने घोषणा गरेको हो । उनले पुराना दलका नेता–कार्यकर्तालाई कटाक्ष नगर्न आफ्ना कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । सोमबार राजनीतिक घोषणा सभामा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् ।
’हाम्रो एकताले हामीमाथि जिम्मेवारी थपिएको छ । अब हामी शक्तिशाली भयौं भनेर अपदस्थ भएका साथीहरूलाई कटाक्ष नगरौं,’ उनले भने । उनले अगाडि भने, ’हामी मिलेपछि पपुलिस्टहरू मिले भनेर गाली गरेको सुन्नमा आएको छ ।
हाम्रा नेताहरूलाई गाली गरेर कोही तृप्त हुन्छन् भने उनीहरूलाई तृप्त हुन दिनुस्।’ उनले आफू जेलमा रहँदा थुप्रै व्यक्ति र समूह भेट्न आउने गरेको उल्लेख गर्दै आफैले चाहेर भेटेको भने थरूहट आन्दोलनमा लागेकाहरू भएको बताए । उनले पुराना राजनीतिक दलहरूलाई अक्षमता स्वीकार्न पनि अनुरोध गरेका छन् ।

FACEBOOK COMMENTS