काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज भेट गरेका छन् ।
रवि लामिछानेसँग भेट गरिएकोबारे रवीन्द्रले फेसबुकमार्फत जानकारी दिएका छन् । मिश्रले रविलाई जेलमा भेट्दा आफूलाई मजा आएको र लामिछानेले जेलभित्र बस्दा आफूलाई आनन्द महसुस भइरहेको बताएको उल्लेख गरेका छन् ।
यस्तो छ मीश्रको भनाइ–
आज रवि लामिछानेलाई भेटेपछि!
औपचारिक कार्यक्रममा सम्मानजनक भाषा प्रयोग गरे पनि, अनौपचारिक अवस्थामा मैले नेपालमा ’तिमी’ भनेर सम्वोधन गर्ने थोरै मान्छेमा रवि पनि पर्छन्।
सामान्यतया म २०/२२ वर्षका युवालाई पनि ’जी’ ले सम्वोधन गर्छु र ’तपाईँ’ भन्छु। मलाई पनि त्यसै गर्न अनुरोध गर्छु। कतिपयले मान्नु हुन्न, त्यो भिन्दै कुरा हो।
रवि र म वाल्यकालमा लगभग एउटै टोलमा हुर्कियौँ। रवीको दाइ हरिशरण पनि मेरो तिमी–तिमीको साथी।
डेढ घण्टाभन्दा लामो छाति खोलेर गरिएको गफको अन्त्यमा रविले भने, “हाम्रो यो वाल्यकालदेखिको दाइ–भाइको गफ हो। खुब मजा आयो।“ अङ्कमाल गरेर गफ शुरू गरेका थियौँ, अङ्कमाल गरैरै टुङ्ग्यायौँ।
राजनीतिकरूपमा कहिलेकाहिँ घोचपेच भए पनि मेरो रविप्रतिको मानवीय सद्भभावमा कहिल्यै कमी आएन।
धेरै अघि नै मैले भनिसकेको थिएँ, रविको केसलाई तात्कालिन सरकारले जसरी ह्याण्डल गर्यो, त्यो पूर्णत: प्रतिशोधबाट प्रेरित थियो। बर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्णरूपले विश्वस्त छु।
आजको भेटमा रविको उर्जा, आत्मविश्वास र दृढता देखेर म असाध्यै खुशी भएँ। उनले भने, “म यिनीहरूसँग लड्ने नै हो, दाइ। म त यहाँ आनन्दमा छु। पीडामा त यिनीहरू छन् नि!“
हाम्रो राजनीतिक बाटो फरक होला तर मेरो धेरैधेरै शुभकामना छ, रवि, तिमीलाई! (फोटो: ४ वर्ष पहिलेको)


FACEBOOK COMMENTS