काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण बुझाएका छन् ।
पाण्डेले सोमबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई आफ्नो स्पष्टीकरण बुझाएका हुन् । एक साताको समय दिएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई जेठ ६ गते स्पष्टीकरण सोधेका थिए ।
चैत २१ गतेका दिन आफू लामो बिदापछि काठमाडौं महानगरपालिका कार्यालय प्रमुखका रूपमा प्रमुख प्रशासकीय अधिकृतका हैसियतले कार्यालयमा जाँदा रोकेको भन्दै गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफू कार्यालय उपस्थित हुँदा पाण्डेले महानगर प्रहरी बलको अनधिकृत परिचालन गरी अभद्र व्यवहार र गैहकानुनी हर्कत गरेको स्पष्टीकरण–पत्रमा उल्लेख गरेका थिए ।
पाण्डेले प्रमुख प्रशासकीय अधिकृतका रूपमा आफूले प्रयोग गर्दै आएको सवारी साधन ह्वील–लक गर्ने आदेश दिई, ह्वील–लक गर्न लगाई प्रमुख प्रशासकीय अधिकृत कार्यालय आउने कार्यमा बाधा उत्पन्न गरेको समेत उल्लेख गरेका थिए ।
पाण्डेले कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरूसमेतको बाटो छेकी अमर्यादित एवम् अभद्र क्रियाकलाप गरेको, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवम् वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दा समेत ताला खोल्ने कार्यमा समन्वय नगरेको आरोप लगाएका थिए ।
साथै, सञ्चारमाध्यममा अनधिकृत बयानबाजी गरेको र उपप्रमुख र अन्य जनप्रतिनिधिहरूसँग समेत अमर्यादित व्यवहार देखाएको पनि आरोप लगाइएको थियो ।
पाण्डेलाई सात दिनभित्र रीतपूर्वक स्पष्टीकरण पेस गर्न र म्यादभित्र स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चितबुझ्दो नभएमा कानुनबमोजिम कारबाही गर्ने पत्रमा उल्लेख गरिएको थियो ।
FACEBOOK COMMENTS