धनुषा । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जनकपुरधामको पर्यावरण, शिक्षा र स्वास्थ्य अवस्था खस्किदै गएकामा चिन्ता व्यक्त गरेका छन् ।
जनकपुरधाममा आजदेखि सुरु भएको तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव’को उद्घाटन गर्दै उनले यसप्रति ध्यान दिन सरोकारवाला सबैमा आग्रह गरे ।
पूर्वराष्ट्रपति यादवले जनकपुरधामका शैक्षिक संस्थाहरुको गुणस्तर विगतमा अन्यत्रभन्दा राम्रो रहेको उल्लेख गर्दै पछिल्लो समय अवस्था खस्किदै गएकामा चिन्ता व्यक्त गरे । “अवस्थामा सुधार ल्याउन सबै मिलेर अगाडि बढ्नुपर्छ”, उनले भने–“यहाँको संस्कृति र सभ्यता निर्माणमा सबैको महत्वपूर्ण योगदानको आवश्यकता छ ।”
पूर्वराष्ट्रपति यादवले आफ्नो सम्पूर्ण जीवन लोकतन्त्रकै लागि समर्पित गरेको उल्लेख गरे । उनले भने, “युवा पुस्ता लोकतन्त्र बचाउन सक्रिय हुनुपर्छ ।” पूर्वराष्ट्रपति यादवले लोकतन्त्र आठ दशकको उपलब्धि रहेकाले यसलाई सबैले चनाखो भएर बचाएर राख्नुपर्ने आवश्यकता रहेको बताए ।
FACEBOOK COMMENTS