शिक्षा र खेलकुदका क्षेत्रमा विशेष रुची भएका रमेश कुमार सिलवाल बत्तिसपुतलीस्थित गोल्डेलगेट इन्टरनेशनल कलेजका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव हुन् । २०२२ सालमा धादिङको बेनीघाटमा जन्मिएका सिलवालले एमएससी (केमेस्ट्री) र बीएलसम्मको अध्ययन पूरा गरेका छन् ।
मध्यम वर्गीय परिवारमा हुर्किएका सिलवालले पाटन व्यावसायिक माध्यमिक विद्यालय (पाटन हाईस्कुल) बाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । आईएससी र बीएससी त्रिचन्द्र कलेज तथा त्रिभुवन विश्वविद्यालयबाट एमएससी गरेका हुन् । पहिला आफूलाई हेर्ने सोचभन्दा माथि उठेर अरुलाई परेको दुःख र समस्या समाधान गर्नुपर्छ भन्ने संस्कार आफ्नो बुबा–आमाबाट सिकेका सिलवाल सानैदेखि पढाईमा अब्बल, सामाजिक सेवामा अग्रसर तथा नेतृत्व विकासमा तल्लिन हुन्थे ।
जीवनमा आफ्नो रुचीका सूची लामो भए पनि प्राज्ञिक जगत र शैक्षिक क्षेत्रलाई विशेष माया गर्दै आएका सिलवालले करिब ३० वर्ष त्रिभुवन विश्वविद्यालयमा सेवा गरी स्वेच्छिक अवकाश लिए । त्यसपछि उनी गोल्डेनगेट इन्टरनेशनल कलेजलाई विश्वविद्यालयका रूपमा रूपान्तरण गर्ने उद्देश्यका साथ अगाडि बढे । साथै खेलकुद, गीतसंगीत, नृत्य र समाजसेवामा पनि रुची राख्ने सिलवाललाई रचनात्मक, सृजनात्मक र प्राज्ञिक क्षेत्र सबैभन्दा बढी मन पर्ने क्षेत्र हो । सरकारी शिक्षण संस्थामा २०४६ सालदेखि प्राध्यापन पेशा शुरू गरेका सिलवालले त्यहाँ आफूले जानेको शीप, ज्ञान र क्षमता अनुसारको काम गर्न पाएनन् । जागिरे प्रवृत्ति हाबी हुने सरकारी निकायमा उनले आफ्नो योजनाअनुसारको काम गर्ने वातावरण बन्दै नबनेपछि स्वेच्छिक अवकाश लिएर नीजि शैक्षिक संस्था सञ्चालन गर्ने योजना बनाएका हुन् ।
शुरूमा उनले ह्वाइटहाउस इन्टरनेशनल कलेजमा संस्थापक भएर काम गरे । त्यसपछि २०६४ सालमा आफ्नै नेतृत्वमा गोल्डेनगेट इन्टरनेशनल कलेज स्थापना गरे । शुरूमा गोल्डेनगेटसहित यो नेटवर्कभित्र एड्भान्स इन्जिनीयरिङ कलेज, कसमस इन्जिनीयरिङ कलेज, प्लाटेनियम कलेज, टाइम्स कलेज र काठमाण्डू भ्याली स्कुल थियो । अहिले तीनवटा कलेज उनले अन्य व्यक्ति÷संस्थालाई हस्तान्तरण गरिसकेका छन् भने तीनवटामा आफै रहेर काम गरिरहेका छन् ।
राज्यलाई अगाडि बढाउने मूल माध्यम नै शिक्षा भएकाले आफू यो क्षेत्रमा अधिक रुचीका साथ प्रवेश गरेको सिलवाल बताउँछन् । राम्रो शिक्षा–दिक्षा नभए परिणाम राम्रो नआउने भएकाले सैद्धान्तिक भन्दा बढी व्यावहारिक शिक्षाको विकास गर्नुपर्नेमा उनको जोड छ । शिक्षालाई खोज र अनुसन्धानमुलक बनाउन सके मात्रै स्नातकोत्तर र विद्यावारिधि गरेकाहरूले ‘म यो काम गर्न सक्छु’ भन्ने अवस्था आउने उनको भनाइ छ ।
संसारको शिक्षामा नयाँ ‘एप्रिन्टाइसिक’ मोडेल आइसक्यो तर नेपालको शिक्षा अझै सर्टिफिकेट प्राप्त गर्ने माध्यमका रूपमा मात्रै सीमित छ । अनुभूति छैन, सुगा रटान मात्रै छ । यसले गर्दा मास्टर्स र पीएचडी होल्डरहरू म यो काम गर्न सक्छु भन्ने अवस्थामा नरहेको उनको भनाइ छ ।
त्यसैले नेपालको शिक्षा क्षेत्रमा पनि एप्रिन्टाइसिक मोडेल अपनाउनुपर्नेमा उनको जोड छ । त्यो मोडेलले जुन क्षेत्रलाई जस्तो प्रकारको जनशक्ति आवश्यक छ त्यस्तै जनशक्ति उत्पादन गर्छ । एप्रिन्टाइसिक मोडेलमा व्यावहारिक ज्ञान बढी र सैद्धान्तिक ज्ञानलाई कम महत्व दिइएको छ ।
आफ्नै सोचबाट शिक्षा क्षेत्रमा प्रवेश गरेका सिलवाल नेपालमा पनि व्यावहारिक शिक्षाको अभ्यास क्रमिक रूपमा भइरहेको बताउँछन् । यद्यपि, अहिले अधिकांश पढेका मान्छेहरूलाई आफ्नो पढाई आफ्नै जीवनमा काम नलागिरहेको अवस्थाप्रति भने उनी चिन्ता व्यक्त गर्छन् ।
नेपालमा शिक्षित युवाहरूले रोजगारी नपाएको साँचो भए पनि राम्रा मान्छे रोजगारविहीन हुन नपरेको उनको भनाइ छ । अबको प्रोडक्शन बजारले एक्सेप्ट गर्ने खालको हुनुपर्नेमा उनको जोड छ ।
अपनत्व लिने मान्छेहरूको कमीका कारण सरकारी स्वामित्वका शैक्षिक संस्थाहरूको अवस्था कमजोर भएको उनी बताउँछन् । जागिर मात्र खाने प्रवृत्तिले सरकारी शिक्षामा तत्काल सुधारको अवस्था नरहेको भन्दै उनले निजी शैक्षिक संस्था भन्दा सरकारी शैक्षिक संस्था नै महङ्गो भएको दाबी समेत गरेका छन् । सस्तो शुल्कमा पनि आफूहरूले गुणस्तरयुक्त शिक्षा प्रदान गरिरहेको उनको भनाइ छ ।
निजीमा अभिभावकले आफ्नै खल्तीबाट खर्च गर्न परेकाले महङ्गोजस्तो लागेको भए पनि सरकारले एक जना विद्यार्थीबराबर गरेको खर्चको तुलनामा निजी धेरै सस्तो भएको उनको दाबी छ । त्यसकारण सर्भिस दिएको आधारमा मूल्य निर्धारण गरिएको सिलवाल बताउँछन् ।
सरकारी शिक्षा सुधारका लागि उचित मोनिटरिङ, प्रधानाध्यापकलाई स्वतन्त्रतासँगै टार्गेट दिने, राम्रो गर्दा स्याबास भन्ने, राम्रो गर्न नसके कारबाही गर्ने हिम्मत गरेको खण्डमा सरकारी शिक्षामा केही सुधार आउने उनी बताउँछन् । आफू जुन ठाउँको जिम्मेवारीमा बसेको हो उसले आफ्नो कर्तव्यमा समर्पित भई यो मेरो, हाम्रो, अरुले होइन मैले गर्नुपर्छ भन्ने भावना जगाउन सक्दा सरकारी शिक्षण संस्थाहरूमा अवश्य पनि सुधार आउन सक्ने उनले देखेका छन् । अपनत्व लिए परिणाम राम्रो आउनेमा उनी विश्वस्त देखिन्छन् ।
व्यावहारिक शिक्षामा जोड दिएकै कारण गोल्डेनगेट कलेजका विद्यार्थीहरू बेरोजगार बस्न नपरेको उनी सुनाउँछन् ।
खेलकुदमा पनि रुची राख्ने सिलवाललाई पछिल्लो समय सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पदमा नियुक्त गरेको छ । उक्त संस्थामा उनको उपस्थितिसँगै खेलकुदका क्षेत्रले समेत कोल्टे फेर्ने अपेक्षा गरिएको छ । खेल र शिक्षा आपसमा परिपुरक भएको बताउने सिलवाल खेलकुदले मानिसलाई स्वस्थ जीवन प्रदान गर्ने बताउँछन् । साथसाथै देशको शान, मान र इज्जत बढाउन पनि संसारमा खेलकुदको विशेष भूमिका रहेको उनको भनाइ छ ।
खेलेर होइन, नखेलेरचाहिँ युवा विग्रिने तर्क राख्ने सिलवाल खेलकुदले मानिसको सोच्ने तरिका र सोचको स्तर नै उच्च हुने दाबी गर्छन् । सधैं विद्यालयमा अनुत्र्तीण हुने विद्यार्थीलाई चेस खेल्न लगाउँदा उसले पढाइमा समेत सुधार गर्न सक्ने उनको तर्क छ । त्यसैले परिषद्मार्फत खेलकुदका संरचना निर्माणका साथै विभिन्न अल्पकालीन र दीर्घकालीन योजना बनाएर उनी अगाडि बढिरहेका छन् ।
हरेक मानिसले आफ्नो भन्दा अरुको राम्रो देख्छ, हो त्यही आफूसँग जे छ र जे छैन त्यो नै वास्तविक जीन्दगी हो । त्यसैले उनी भन्छन्, ‘लामो जीन्दगी बाँच्नतिर नसोच, कति गहिरो जीन्दगी बाच्छांै त्यो चाहिँ सोच ।’ यद्यपि, सिलवाल व्यावसायिक खेलाडी होइनन् तर राम्रो म्यानेजर हुन् । केही–केहीबाहेक सबै खेल खेलेका सिलवाल आफूले भने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रि खेलमा सहभागिता जनाएका छैनन् ।
FACEBOOK COMMENTS