काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नं. २३ ले रञ्जना लिपिको संरक्षणका लागि वडाभित्रका व्यवसायको परिचय पाटी रञ्जना लिपिमा राख्न सुरू गरेको छ ।
वडामा व्यवसाय दर्ता गरेका र नियमित कर तिर्ने ५० जना करदातालाई उपहार स्वरूप पहिलो चरणमा बत्ती जडित वोर्ड जडान गरिदिएको हो ।
वोर्ड जडान कार्यको निरीक्षणका लागि कार्यवाहक प्रमुख सुनिता डंगोल झोछेँ पुगेकी थिइन् । कार्यक्रमको पहिलो चरणमा जुद्ध शालिकबाट वसन्तपुरतर्फ, नौतले दरबारबाट झोछेँ हुँदै ओमवहालतर्फका व्यवसायीको व्यवसायमा परिचय पाटी जडान गरिएको छ ।
गोलाकार वोर्डको माथिल्लो भागमा साना अक्षरमा अंग्रेजी भाषा, बिचमा ठूलो अक्षरमा रञ्जना लिपि र तल्लो भागमा देवनागरिक लिपिमा ठेगाना लेखिएको छ । यो डिजाइनका लागि क्यालीजात्रा फाउन्डेसनले सहयोग गरेको हो । कार्यक्रम कार्यान्वयनमा झोँछे सामुदायिक समाजले संयोजन गरिरहेको छ ।
‘यो मौलिक र पर्यटकीय क्षेत्र हो । यो क्षेत्रको मौलिकता बचाउन र दृश्यात्मक सुन्दरता बढाउन हामीले यो काम अगाडि बढाएका हौँ,’ वडाध्यक्ष एवम् महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले भने, ‘रञ्जना लिपिको संरक्षण गर्न, व्यवसायहरूमा राखिने परिचय पाटीको आकार र शैलीमा एकरूपता कायम गराउन, करदातालाई कर तिर्न प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ ।’

महर्जनका अनुसार वडाभित्र करिव ७०० व्यवसायी छन् । दर्ता र नियमित कर तिर्ने करदातालाई चरणवद्ध रूपमा परिचय पाटी वितरण गर्दै लगिने उनको भनाइ छ ।

सम्पदा संरक्षणकर्मी एवम् स्थानीय गणपतिलाल श्रेष्ठले वडाको कामबाट झोँछे क्षेत्रको मौलिकता र पर्यटन व्यवस्थापन योजनामा टेवा दिएको प्रतिक्रिया दिए । साना तर महत्वपूर्ण कामबाट नतिजा आउने बताउँदै उनले कामको निरन्तरताको अपेक्षा राखेको बताए ।