आज बि.सं. २०८२ भदौ २८ गते शनिवार ई.सं. २०२५ सेप्टेम्बर १३ नेपाल सम्बत ११४५ ञलागा षष्ठी- २१ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण षष्ठी , चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, हर्षण योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन तिल मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर २१ मिनेट देखि ८ बजेर ५३ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आजको दिनमा सप्तमी श्राद्ध, प्राथमिक उपचार दिवस रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले आज खासै लाभ मिल्ने समय छैन । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ । काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुन्छ । अझ लेनदेनको विषय हो भने निकै सतर्कता अपनाउनु होला । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल/तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान/प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके/ताकेका काम पूरा गर्न सजिलो हुनेछ । जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार राम्रै प्रतिफल हात लागी हुनेछ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । नोकरीमा बढुवा हुने वा कार्यक्षेत्रमा विस्तार हुने राम्रो दिन छ । सिनियर स्टाफको सहयोग र सद्भावले सन्तुष्टि मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । लामो समयदेखि मनमा उठेका विषयवस्तुको परिपूर्ति गर्ने दिन हो । कुनै विशेष ठाउँमा अन्तर्वार्ता दिने हो भने आजको प्रयास फलदायी बन्नेछ । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला । नियम/कानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनोरञ्जनात्मक समय हो, पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा सम्बन्ध/सम्पर्क बढ्नेछ । साझेदारीको कुनै काम छ भने त्यसमा समेत लाभ हुनेछ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । दैनिक काममा जीवनसाथी र सन्तानको सहयोग जुट्नेछ, तर ससाना कुरामा पनि बहस र विवाद हुने दिन हो, सचेत हुनुपर्छ । निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । कार्य सम्पादनमा सहजता र शीघ्रता हुनेछ, सीप वा योग्यता बढाउने अवसर मिल्नेछ, तर पारिवारिक प्रयोजनका लागि समय छुट्याउनु होला । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शरीर त स्वस्थ रहने छ, तर चिन्तामा बृद्धि हुने दिन हो । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ, तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । सँगीसाथी वा आत्मीयजनसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न हुने समय छ, पारिवारिक माहौल र आर्थिक पक्षसमेत सुदृढ देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ ।
FACEBOOK COMMENTS