काठमाठौं । सहकारीको बचत अपचलन र संगठित अपराधको मुद्दामा आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा आन्दोलित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्ताले आफूहरूको आन्दोलनलाई काठमाडौंकेन्द्रित बनाएका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने पक्राउविरूद्ध नेता-कार्यकर्ताले शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्डसमेत बोकेका छन् ।
लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार सार्वजनिक बिदा परेकाले आइतबार मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो ।
अदालतले लामिछानेमाथि अनुसन्धान गर्न पक्राउ परेको दिनदेखि नै लागू हुने गरी ६ दिनको म्याद थपेको थियो ।
तर, बयान नसकिएपछि उनीमाथि अनुसन्धान गर्न प्रहरीले बिहीबार फेरि ७ दिनको म्याद थपेको छ ।
यसअघि यसैको विरोधमा रास्वपाका नेता-कार्यकर्ताले पोखरामा पनि आन्दोलन गरेका थिए ।
FACEBOOK COMMENTS