काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्दा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै आज बुधबार राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएको छ ।
गत शुक्रबार लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेकाे भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न मागसहित रास्वपाले आयोगमा निवदेन दिएको हो ।
रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी, बागमती प्रदेश सभापति अच्युतम लामिछानेलगायत नेताहरू पुल्चोक हरिहर भवनस्थित आयोगको कार्यालय पुगेर ध्यानाकर्षण गराएका हुन् ।
सभापति लामिछानेमाथि भएको प्रहरी ज्यादती र मानव अधिकार हननको घटनाविरुद्ध पार्टीको तर्फबाट उनको मानव अधिकार रक्षार्थ आयोगमा निवेदन दिइएको बुर्लाकोटीले बताए ।
लमिछानेलाई सुप्रिम सहकारीको बचत अपचलन र सङ्गठित अपराधको मुद्दामा रुपन्देही जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
आदेशपछि शुक्रबार राति नै काठमाडौंको बूढानीलकण्ठस्थित लामिछानेको घरमा प्रहरी पुगेको थियो ।
उनलाई पक्राउ गर्दा न्यायिक प्रक्रिया नपुर्याएको र पक्राउ गर्न गएका प्रहरी अधिकृतले अपमानजनक व्यवहार र शब्द प्रयोग गरेको रास्वपा नेताहरूको आरोप छ ।
लामिछाने सोमबा जिल्ला कारागार रुपन्देहीमा थुनामा पठाइएका छन् ।
FACEBOOK COMMENTS