काठमाडौं । कर्पोरेट मिडिया ग्रुपले रेष्टुरेन्ट एण्ड बार एसोसिएशन नेपाल (रेबान) का अध्यक्ष सङ्घर्ष बिष्टलाई ‘कर्पोरेट बिजनेश लिडर्स अवार्ड, २०२६’ प्रदान गरेको छ ।
१८औँ संस्करणको ‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड, २०२६’ अन्तर्गत उनलाई सो अवार्ड प्रदान गरिएको हो ।
ईश्वर लाल प्रतिष्ठानको सहकार्यमा कर्पोरेट मिडिया ग्रुपले बिहीबार काठमाडौंस्थित होटेल र्याडिसनमा आयोजना गरेको विशेष समारोहमार्फत प्रतिनिधसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले अध्यक्ष बिष्टलाई सो अवार्ड प्रदान गरे ।
पर्यटन प्रवर्द्धन, संस्थागत नेतृत्व र उद्यमशीलतामार्फत नेपालको अर्थतन्त्रमा पुर्याएको विशिष्ट योगदानका लागि उनलाई सो अवार्ड प्रदान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वल जंग शाहले जानकारी दिए ।


संघर्ष बिष्ट नेपालको पर्यटन, होटेल तथा आतिथ्य क्षेत्रका अग्रणी उद्यमी हुन् । तीन दशकभन्दा बढी समयदेखि पर्यटन, होटेल, रेस्टुरेन्ट तथा आतिथ्य व्यवसायको विकासमा सक्रिय उनी विभिन्न प्रतिष्ठित होटेल, क्याफे तथा रेस्टुरेन्ट कम्पनीका अध्यक्ष छन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएशन नेपाल (रेबान) का अध्यक्षसमेत रहेका उनी नेपालको पहिलो आधिकारिक प्याराग्लाइडिङ पाइलटका रूपमा परिचित छन् ।

कार्यक्रममा ‘कर्पोरेट एक्सिलेन्स’, ‘बैंकिङ, इन्स्योरेन्स एण्ड फाइनान्स’, ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप’, ‘कर्पोरेट बिजनेश लिडरसिप’ र ‘लाइफटाइम एचिभमेन्ट’ सहित पाँचवटा विधामा कूल २९ वटा अवार्ड प्रदान गरिएको अध्यक्ष शाहले जानकारी दिए । नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले विगत १८ वर्षदेखि ‘कर्पोरेट बिजनेश अवार्ड’ आयोजना गर्दै आएको उनको भनाइ छ ।


कार्यक्रममा अवार्ड वितरणसँगै देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रले भोगिरहेका चुनौती तथा आर्थिक पुनरुत्थानका सम्भावनाबारे पनि छलफल गरिएको थियो । यस्तै, अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका, लगानी विस्तार, रोजगारी सिर्जना तथा आर्थिक सुधारका विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, सङ्घीय सांसद, अर्थशास्त्री, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो । साथै, देशभरका उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, स्वास्थ्य संस्था, ऊर्जा क्षेत्र तथा अन्य व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
यो पनि पढ्नुहोस्–
‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड’ कार्यक्रम सम्पन्न, पाँच विधामा २९ वटा अवार्ड प्रदान (विवरणसहित)