श्रीराम जन्मभूमि न्यासका प्रमुख अर्चक सन्तोष तिवारी र विश्व हिन्दु परिषद्का विशिष्ट आचार्य दुर्गाप्रसाद गौतमले सोमबार नेपालको प्रसिद्ध सनातन धार्मिक केन्द्र शाश्वत धामको भ्रमण गरेका छन् । तीन दशकभन्दा बढी समयदेखि अयोध्यास्थित श्रीराम मन्दिरमा निरन्तर सेवारत तिवारीको यस भ्रमणले दुई महत्त्वपूर्ण धार्मिक-शैक्षिक संस्थाहरूबीच नयाँ सहकार्यको ढोका खोलेको छ ।
भ्रमणको मुख्य उद्देश्य श्रीराम वेद विद्यालय अयोध्या र शाश्वत धामस्थित वैदिक कर्मकाण्ड गुरूकुलबीच भगिनी सम्बन्ध स्थापना गर्ने रहेको छ । यस अवसरमा शाश्वत धामकी फाउण्डर सारिका चौधरी र गुरूकुलका प्रधानाचार्य विष्णुप्रसाद घिमिरेबीच गहन छलफल भएको थियो ।
दुवै संस्थाका विद्यार्थीहरूको शैक्षिक र आध्यात्मिक विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नेबारे पनि छलफल भयो । यसअन्तर्गत दुई धार्मिक केन्द्रका विद्यार्थीहरूबीच ज्ञान आदानप्रदान कार्यक्रम, संयुक्त अनुसन्धानका योजनाहरू, वैदिक ज्ञान-विज्ञानको अध्ययन-अध्यापन र सांस्कृतिक आदानप्रदानजस्ता गतिविधिहरू समावेश हुनेछन् ।
श्रीराम जन्मभूमि न्यासका प्रमुख अर्चक तिवारीले भ्रमणका क्रममा शाश्वत धामको भव्य परिसर, यहाँको वैदिक शिक्षा प्रणाली र आध्यात्मिक वातावरणको प्रशंसा गरे । उनले भने, ‘शाश्वत धामको शैक्षिक र आध्यात्मिक गतिविधिहरूले वैदिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने निश्चित छ ।’
सन् २०१७ मा स्थापित यस शाश्वत धामले स्थापनाकालदेखि नै आध्यात्मिक चेतना जागृत गर्ने र वैदिक ज्ञानको प्रसार गर्दै आएको छ । यस धामले ज्ञान, भक्ति, कर्म र योगमार्फत मानिसहरूको आध्यात्मिक र मानसिक विकासमा विशेष जोड दिँदै आएको छ ।
हालसम्म ४९ लाखभन्दा बढी दशैनार्थी एवं धार्मिक पर्यटकहरूले यस धामको भ्रमण गरिसकेका छन्, जुन यस धामको बढ्दो लोकप्रियताको प्रमाण हो ।
आगामी दिनमा ५० लाख भ्रमणकर्ताको ऐतिहासिक उपलब्धि हासिल गर्न लागेको अवसरमा शाश्वत धामले विशेष समारोहको आयोजना गर्ने तयारी समेत गरिरहेको छ ।
विश्व हिन्दु परिषद्का आचार्य दुर्गाप्रसाद गौतमले दुवै धार्मिक संस्थाबीचको सहकार्यले सनातन धर्म र वैदिक संस्कृतिको विश्वव्यापी प्रचारप्रसारमा नयाँ उर्जा थप्ने विश्वास व्यक्त गरे ।
शाश्वत धाममा नियमित रूपमा वैदिक कर्मकाण्ड, योग शिविर, ध्यान साधना, सत्संगलगायतका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । साथै यहाँको वैदिक गुरूकुलले परम्परागत शिक्षा प्रणालीलाई आधुनिक शिक्षासँग समन्वय गर्दै नयाँ पुस्तामा सनातन मूल्य र मान्यताहरू हस्तान्तरण गर्ने काम गर्दै आएको छ ।
दुई धार्मिक स्थलबीचको सहकार्यले वैदिक ज्ञान र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा नयाँ अध्याय थप्ने विश्वाससमेत गरिएको छ ।
FACEBOOK COMMENTS