काठमाडौं । नेपाल समुन्द्रपार निकासी पैठारी संघले आपूर्ति शृंखला खल्बलिन नदिन आग्रह गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले अहिलेको जटिल अवस्थामा व्यावसायिक कर्तव्यबोधका साथ अघि बढ्न र अत्यावश्यकीय वस्तुको आपूर्ति शृंखला खल्बलिन नदिन सम्पूर्ण सदस्य तथा गैरसदस्य व्यवसायीहरुमा अपिल गरेको हो ।
संघले नहुनुपर्ने भइसकेर मुलुक इतिहासकै कहालीलाग्दो क्षणबाट विस्तारै सामान्य अवस्थातर्फ उन्मुख भइरहेको अवस्थामा भ्रष्टाचार, कुशासन र बेथितिमुक्त नवनेपाल निर्माणको दिशामा अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै अहिलेको तरल अवस्था चाँडै नै अन्त्य भई युवा पुस्ताको चाहनाबमोजिमको समृद्धि यात्रामा देश अगाडि बढ्ने हाम्रो अपेक्षा गरेको छ ।
प्रदर्शनका क्रममा उद्यमी, व्यवसायी, उद्योग, प्रतिष्ठान, तिनका कार्यालय एवं निवासलाई तोडफोड एवं आगजनीको निशाना बनाइएबाट उद्यमी व्यवसायी अभूतपूर्व रुपमा भयभीत भएका छन् । यस्ता घटनाबाट दीर्घकालसम्म व्यवसायमा हुने स्वदेशी र विदेशी लगानी प्रभावित हुने र समृद्धिको यात्रामा अवरोध आउने संघको ठहर छ ।
‘अहिलेको जटिल अवस्थामा व्यावसायिक कर्तव्यबोधका साथ अघि बढ्न र अत्यावश्यकीय वस्तुको आपूर्ति शृंखला खल्बलिन नदिन सम्पूर्ण सदस्य तथा गैरसदस्य व्यवसायीहरुमा हार्दिक अपिल गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ‘यसमा समन्वय र सहजीकरण गरिदिन सरोकारवालालाई आग्रह गर्दछौं । सम्पूर्ण सरकारी निकाय र कार्यालयहरु तत्कालै काममा फर्किंदा सहजीकरणको वातावरण बन्ने संघको अपेक्षा छ ।’
नहुनुपर्ने भइसकेर मुलुक इतिहासकै कहालीलाग्दो क्षणबाट विस्तारै सामान्य अवस्थातर्फ उन्मुख भइरहेको अवस्थामा भ्रष्टाचार, कुशासन र बेथितिमुक्त नवनेपाल निर्माणको दिशामा अगाडि बढ्नुको विकल्प नभएको जनाएको छ ।
सुशासन र समृद्धिको दिशामा सरकोकारवाला पक्षसँग देशका लागि अझ बढी वित्तीय स्रोत र अझ बढी रोजगारी आवश्यक परेको यो अवस्थामा नियमित रुपमा उद्यम व्यवसाय चल्ने वातावरणको निम्ति अपरिहार्य शान्ति सुरक्षाको प्रबन्ध यथाशीघ्र मिलाउन संघ सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ । व्यावसायिक एवं व्यक्तिगत सम्पत्ति सुरक्षाको ग्यारेन्टी भएको अवस्थामा मात्रै युवा पुस्ताले चाहेको सुशासन, बेथितिको अन्त्य र समृद्धि हासिल गर्न सकिने हुँदा त्यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गरेको छ ।
अर्थतन्त्रको चालक शक्ति निजी क्षेत्रका व्यावसायिक गतिविधि भयरहित वातावरणमा निर्धक्कसँग चल्न नसकेमा अर्थतन्त्रमा थप समस्या आउने निश्चित छ । त्यसैले सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्वाध रुपमा पेसा व्यवसाय गर्न सक्ने वातावरण निर्माणको लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन आग्रह गरेको छ ।
निषेधाज्ञा एवं कफ्र्युका बेला अत्यावश्कीय सेवा दिने पेसाकर्मीको आवतजावत तथा औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यकीय वस्तुको ओसारपसारमा सहजीकरण सम्बद्ध निकायलाई आग्रह गरेको छ । परिस्थिति प्रतिकूल भए पनि हिम्मतका साथ गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिन सम्पूर्ण सदस्य तथा अन्य व्यवसायीमा संघको अपिल छ ।
FACEBOOK COMMENTS