काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरीले आफूमाथि लागेका आरोप केन्द्रीय समितिको बैठकमा आएर दिनुपर्ने बताएका छन् ।
चौधरीले भिडियो सन्देश जारी गर्दै रञ्जितालाई तपाइँ भाग्न नपाउने र आफूमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्ने बताएका हुन् ।
रञ्जिता कास्कीको लिचीबारी जग्गा प्रकरणमा बिचौलिया बनेर मन्त्रीलाई घुस खुवाएको पाइएपछि हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेकी छन् ।
चौधरीले भनेका छन्, ‘अध्यक्षले बैठक बैधानिक छैन भनेको सुनेको छु, यसो भनेर अध्यक्ष जी पन्छिन पाउनुहुन्न । साथीहरुले बैठक बोलाउनु भएछ, के कारणले बैठक बोलाउनु भएछ, उहाँले सोधीखोजी गर्नुपर्छ । उहाँ अध्यक्ष भइसकेपछि हरेक सदस्य उहाँको परिवार हो । उहाँसँग प्रतिशोधको भावना राख्नु गलत कुरा हो ।’
चौधरीले अहिलेको परिस्थिति अध्यक्षको कारणले भएको भन्दै केन्द्रिय सदस्यमा आएर जवाफ दिनुपर्छ र पार्टीलाई बन्धक बनाउन नपाइने बताएका छन् ।
उनले केन्द्रीय समितिको बैठक आफुले सुझाव दिएर बोलाइएको भन्दै आफु निकासको बाधक नभएको बताए । उनले आफुलाई संरक्षक बनाइएको र पार्टीमा भूमिका विहिन बनेको गुनासो समेत गरेका छन् । उनले पार्टीमा समस्या भए पार्टीमा छलफल गर्न सबैलाई आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS