काठमाडाैं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पूर्वाग्रह राखेर पक्राउ नगरिएको स्पष्टीकरण दिएका छन् ।
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले सामान्य समझ र विवेकबाहिर गएर लेखेको अनधिकृत पत्रका कारण चौधरी पक्राउ पर्न पुगेको भन्दै उनले घटनाप्रति दुःख व्यक्त गरे ।
आज बिहीबारको प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका सवालको जवाफ दिँदै उनले आइन्दा यस्ता घटना नदोहोरिने र अधिकृत विष्टमाथि अनुसन्धान भइरहेको पनि बताए ।
हेर्नुहोस् भिडिओ–
गृहमन्त्री लेखकको भनाइ जस्ताको तस्तै–
![]()
‘मिति २०८२ साल वैशाख १७ गतेका दिन सम्मानित सर्वोच्च अदालतमा कार्यरत एक जना अधिकृतले सामान्य समझ र विवेकबाहिर गएर गरेको अनधिकृत पत्र व्यवहारका कारण नागरिक उन्मुक्ति पार्टीका संरक्षक आदरणीय रेशम चौधरी पक्राउ पर्नुभएको घटनाका प्रति म दुःख व्यक्त गर्दछु । उक्त घटनाको सम्बन्धमा मलाई प्रहरी महानिरीक्षकले जानकारी गराएअनुसार सो दिन सर्वोच्च अदालतको चलानी सङ्ख्या १९२७७ मिति २०८२/०१/१७ उल्लेख भएको पत्र लिएर सम्मानित सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट प्रहरी प्रधान कार्यालय पुगे । निजले आफ्नो परिचयपत्र नेपाल प्रहरीका महानिरीक्षकलाई देखाए । परिचयपत्रसहित अदालतको आदेश कार्यान्वयन गर्न आएको बताए ।
![]()
त्यसपश्चात् प्रहरी महानिरीक्षकले सम्मानित अदालतको आदेश प्रहरी सङ्गठन र निजको कानुनी दायित्वसमेत भएको हुनाले यो विषय प्रहरी परिसर, काठमाडौंमा पठाउनुभयो । सोको आधारमा प्रहरी परिसर, काठमाडौंको टोलीले उहाँलाई नियन्त्रणमा लिई कारागार कार्यालय, डिल्लीबजारमा बुझाएको हो । घटनाका बारेमा प्रहरी महानिरीक्षकबाट मैले जानकारी प्राप्त गर्नेबित्तिकै सर्वोच्च अदालतका रजिष्ट्रारलाई फोन गरी त्यो पत्राचारका बारेमा सोधपुछ गरेँ । सुरुमा सम्मानित सर्वोच्च अदालतका रजिष्ट्रारले यो विषयका बारेमा अनभिज्ञता प्रकट गर्दै थप विषय बुझेर खबर गर्ने बताउनुभयो । पछि उहाँले उक्त पत्र अदालतको आधिकारिक नभएको र अदालतबाट थप छानबिन भइरहेको जानकारी गराउनुभएको थियो ।
![]()
केही समयपश्चात् सम्मानित सर्वोच्च अदालतबाट विज्ञप्तिमार्फत उक्त पत्र आधिकारिक नभएको व्यहोरा जानकारी गराइएको र कारागार कार्यालय, डिल्लीबजारलाई समेत लेखिपठाएअनुसार रेशम चौधरीजी तत्काल रिहा हुनुभएको हो । अनधिकृत रूपमा पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले तत्काल पक्राउ गरी झुटा जानकारी दिन नहुने, आदेशको अवज्ञा गर्न नहुने र किर्ते गर्न नहुनेसमेतका मुद्दा शीर्षकहरूमा सम्मानित अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको छ ।
![]()
यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैँ यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनशायबाहेक कुनै पूर्वाग्रह नरहेको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहन्छु । भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको व्यवहोरासमेत म सम्मानित सदनमा निवेदन गर्दछु । यस घटनाले आदरणीय रेशम चौधरीजी, उहाँको परिवारजन र साथीहरूलाई जुन असहजता, पीडा र दुःख भयो, त्यसका लागि म पुनः एकपटक सम्मानित सदनसमक्ष दुःख व्यक्त गर्न चाहन्छु ।’
FACEBOOK COMMENTS