काठमाडौं । २०८२ साल भदौ २३ र २४ गते नेपाली इतिहासका पानामा यी दुई दिन अब केवल दुईवटा मिति मात्र होइनन्।
यी त्यस्ता दिन हुन्, जसलाई सम्झिँदा आज पनि मन भारी हुन्छ, आँखा रसाउँछन् । भदौ २३ गते एकै दिनमा १९ जना युवाको केही क्षणमै ज्यान गयो । देशको इतिहास बोकेका धरोहरहरू खरानीमा परिणत भए ।
त्यो दिनले नेपाली राजनीतिमा प्याराडाइम सिफ्ट मात्र ल्याएन, हरेक नेपालीको लागि कहिल्यै नभरिने घाउ पनि बन्यो ।
जेन्जीको माग अस्वाभाविक थिएन
भदौ २३ गतेको बिहान काठमाडौँका सडकमा देखिएको दृश्य सामान्य थियो । हातमा नेपालको झण्डा, काँधमा ब्याग, स्कुल–कलेजको पोसाकमै आँखामा परिवर्तनको सपना बोकेका युवाहरू सडकमा उत्रिएका थिए ।

उनीहरूको माग पनि अस्वाभाविक थिएन—भ्रष्टाचारको अन्त्य, जवाफदेही शासन, राजनीतिक नेतृत्वको बेथिति अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता जस्ता मागहरू राखेका थिए ।
राष्ट्र स्तब्ध बनेको दिन
तर केही घण्टामै त्यो शान्त प्रदर्शन यस्तो मोडमा पुग्यो, जसले देशलाई स्तब्ध बनायो। एकै दिन १९ जना युवाको ज्यान गयो। सयौँ घाइते भए ।
कसैको घरको चुलो निभ्यो, कसैको कोख रित्तियो, कसैको सिउँदो पुछियो, कसैले जीवनभरको सहारा गुमाए। र भोलिपल्ट अर्थात् भदौ २४ गते सडकको आक्रोश राज्यका मुख्य संरचनासम्म पुग्यो ।
संसद्, सिंहदरबार, राजनीतिक दलका कार्यालय, नेताका निवास, सरकारी तथा निजी संरचनामा आगो बल्यो। अन्तत: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अवस्था आयो ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलन सत्ता परिवर्तनको बिन्दुसम्म पुग्यो। सुरुवातमा आन्दोलन शान्तिपूर्ण थियो ।
भदौ २३ गते बिहानैदेखि माइतीघर मण्डला क्षेत्रमा युवाहरू जम्मा हुन थालेका थिए ।
उनीहरू यू अगेन्स्ट करप्सन, स्वतन्त्र आवाज हाम्रो अधिकार, भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधु का नारा लेखिएका पम्प्लेट लिएर शान्तिपूर्वक प्रदर्शन गरिरहेका थिए ।
यो कुनै एउटा राजनीतिक दलको आन्दोलन थिएन। न कुनै नेता अगाडि थिए, न कुनै पार्टीको औपचारिक नेतृत्व। सामाजिक सञ्जालबाट संगठित भएको युवापुस्ता आफ्नै आवाज बोकेर सडकमा आएको थियो ।
त्यस दिन भएको के थियो ?
करिब ११ बजेतिर प्रदर्शनकारीहरू माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका थिए । नयाँ बानेश्वरको एनसेल सेन्टर आसपास निषेधित क्षेत्र तोकेर सुरक्षा घेरा बनाइएको थियो ।
प्रदर्शनकारीलाई त्यसभन्दा अगाडि जान रोक्न सशस्त्र प्रहरी र प्रहरीले ब्यारिकेड राखेका थिए। तर भीड रोकिएन। ब्यारिकेड तोडियो। प्रदर्शनकारी अगाडि बढे। त्यसपछि पानीको फोहोरा प्रयोग गरियो ।
तर भीड पछि हटेन। पानीको फोहोरा हानिरहेको गाडीसमेत पछाडि हट्नुपर्ने अवस्था आयो। केहीबेरमै प्रदर्शनकारी संसद् भवनको दक्षिण गेटसम्म पुगिसकेका थिए। त्यहाँ सुरक्षा घेरा कडा थियो ।
तर आक्रोशित भीडको चाप झन् बढ्दै गयो। भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरियो। तर त्यसले पनि भीड रोकिएन। संसद् भवनको दक्षिणी गेटअगाडि प्रदर्शनकारीको संख्या बढ्दै गयो ।
करिब मध्याह्नतिर गेट नजिकै रहेको एउटा सानो भवनको छतमा समेत प्रदर्शनकारीहरू चढ्न थाले। स्थिति तनावपूर्ण बन्दै थियो। त्यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वरलगायतका क्षेत्रमा कर्फ्यु आदेश जारी गर्यो। तर सडक खाली भएन ।
त्यसपछि सुरक्षाकर्मीले गोली चलाए। गोली चलेपछि केहीबेरमै संसद् भवन आसपासको भीड तितरबितर भयो। तर त्यसले आक्रोशलाई शान्त पार्न सकेन। बरु आन्दोलन थप हिंसात्मक बन्दै गयो ।
ढुंगामुढा सुरु भयो। केही प्रदर्शनकारी संसद् भवनभित्र रहेको प्रहरी चेकपोस्टतर्फ पुगे। केही प्रदर्शनकारी संसद् परिसरभित्र समेत प्रवेश गरे। यतिबेला शीतल निवास, नारायणहिटी, केशरमहल, सिंहदरबारलगायत संवेदनशील क्षेत्र आसपाससमेत कर्फ्यु जारी भइसकेको थियो ।
तर सडकमा तनाव रोकिएको थिएन। गोली लागेर घाइते भएका एक युवाको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खबर आयो ।
त्यसपछि मृत्युको संख्या बढ्दै गयो। दिउँसो दुई बजेसम्म दर्जनौँ प्रदर्शनकारी घाइते भइसकेका थिए। साढे दुई बजेतिर संसद्को दक्षिणी गेटअगाडि ब्यारिकेड नजिकै अर्का एक युवालाई गोली लाग्यो। उनी ठाउँको ठाउँ ढले ।
त्यो दिन मानिसको ज्यान बचाउने सिभिल अस्पताल परिसरसमेत तनावबाट अछुतो रहेन। अस्पतालभित्र उपचाररत बिरामी र स्वास्थ्यकर्मीसमेत अश्रुग्यासको सामना गर्नुपर्यो ।
अर्कोतर्फ त्रिवि शिक्षण अस्पताल, ट्रमा सेन्टर, केएमसी, एभरेस्टलगायत अस्पतालहरू घाइतेले भरिभराउ हुन थालेका थिए । यी अस्पतालमा घाइते ल्याउने क्रम रोकिएको थिएन। अस्पतालमा चिकित्सकहरू उपचारमा निरन्तर खटिरहेका थिए। अस्पताल बाहिरको अवस्था उस्तै कहाली लाग्दो बनेको थियो ।
आफन्तहरू आफ्ना मान्छे खोजिरहेका थिए। कसैले अस्पतालको ढोकामा उभिएर नाम सोधिरहेका थिए त कसैले फोन गर्दै थिए ।
त्यो दिन काठमाडौँका अस्पतालहरू केवल उपचार गर्ने ठाउँ मात्र थिएनन्। सयौँ घाइते परिवारका आशा र त्रासको केन्द्र बनेका थिए ।
सिरियस नदेखिएका ओली र लेखक
१९ जनाको मृत्यु भैसकेपछि मात्र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
दिउँसो साढे तीन बजेसम्म आन्दोलनका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या १४ पुगिसकेको थियो। देशभरबाट घटनाको भयावह विवरण आइरहेको थियो।
सडकमा रगत बगिरहेको थियो, अस्पताल घाइतेले भरिभराउ भैसकेको थियो, हरेक नागरिकको घरमा त्रास र सन्नाटा छाएको थियो।
तर यस्तो परिस्थिति सिर्जना भैसक्दा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ करिब ६ बजेतिर मात्र आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए।
त्यसबेलासम्म धेरै ढिलो भइसकेको थियो। साँझ साढे सात बजेसम्म आन्दोलनका क्रममा १९ जनाले ज्यान गुमाइसकेका थिए ।
सयौँ घाइते भइसकेका थिए। राष्ट्र नै स्तब्ध थियो। राति करिब ८ बजे तत्कालीन गृहमन्त्री रमेश लेखकले राजीनामा दिए।
त्यसपछि सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फिर्ता लिने निर्णय गर्यो। तर सरकारको निर्णय सुनाइरहँदा तत्कालीन सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गलत नभएको अभिव्यक्ति दिए, जुन अभिव्यक्तिले युवाको आक्रोशमा थप आगो थप्ने काम गर्यो।
२४ गते के–के भयो ?
त्यहीँबाट भदौ २३ को आन्दोलनले अर्को रूप लियो। भदौ २३ मा सडकमा बगेको रगतको प्रभाव भदौ २४ मा देखियो।
यस दिन सिंगो सत्ता संरचना नै प्रश्नको घेरामा आयो। तत्कालीन कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिए। तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी भयो।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा तोडफोड र आगजनी भयो। तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिए।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा समेत आगजनी भयो। देउवा दम्पतीमाथि कुटपिट भएको भिडियोले तहल्का मच्चायो।
प्रमुख राजनीतिक दलका कार्यालयहरू आन्दोलनकारीको निशानामा परे। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलका कार्यालयहरूमा आगजनी भयो।
तत्कालीन प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गगन थापा लगायत नेताका निवाससमेत आक्रमणबाट जोगिएनन्।
नेपालको राज्यसत्ताको सबैभन्दा शक्तिशाली प्रतीक मानिने सिंहदरबारमा दनदनी आगो बल्यो। संसद् भवनको अवस्था उस्तै भयो।
सर्वोच्च अदालत र शीतल निवासजस्ता राज्यका संवेदनशील संरचनामा समेत आगो लगाइयो। देशका विभिन्न भागमा सरकारी कार्यालयमा आगजनी भयो। प्रहरी कार्यालयहरू आन्दोलनको प्रमुख निशाना बने।
जसले वर्षौँदेखि जनताको सुरक्षा गरिरहेका थिए, त्यही प्रहरी त्यस दिन आफैँ असुरक्षित बन्यो। प्रहरीमाथि नै आक्रमण भयो। आक्रमणबाट तिन जना प्रहरीले ज्यान गुमाए।
प्रहरी चौकीहरू जलाइए। हतियार र सुरक्षाका संरचनासमेत लुटिए। इतिहासले त्यो दृश्यलाई सायद बिर्सला। जनताको सुरक्षा गर्ने प्रहरी नै त्यस दिन आफ्नो सुरक्षाका लागि भागिरहेको थियो।
आन्दोलनले राजनीतिक संरचना मात्र हल्लाएन, देशको अर्थतन्त्र र निजी क्षेत्रलाई समेत ठूलो चोट पुगेको थियो। देशका प्रमुख व्यावसायिक घरानामध्ये चौधरी समूह, हिल्टन होटल र भाटभटेनी सुपरमार्केट लगायतले ठूलो क्षति बेहोर्नुपर्यो।
सञ्चार गृहहरूमा समेत आक्रमण भयो। व्यावसायिक प्रतिष्ठान, निजी निवास, सरकारी कार्यालय र सार्वजनिक संरचना जले।
वर्षौँ लगाएर निर्माण गरिएका संरचनाहरू केही घण्टामै खरानी बने। देशले ठूलो आर्थिक क्षति बेहोर्नुपर्यो। तर त्यो क्षति पैसामा मात्र मापन गर्न सकिँदैन।
७६ जना युवालाई कहिल्यै फर्काउन सकिने छैन । किनकि केही संरचना पुनर्निर्माण गर्न सकिएला, भत्किएका संरचना फेरि बनाउन सकिएला, जलेका कार्यालय फेरि सञ्चालनमा आउलान्, तर ज्यान गुमाएका युवाहरू कहिल्यै फर्किने छैनन्।
त्यो आन्दोलनमा ७६ जना युवाले बलिदान दिए। जेन्जी आन्दोलनका ती दुई दिन केवल राजनीतिक उथलपुथलका दिन थिएनन्। त्यो दिन मानव क्षतिको दृष्टिले पनि नेपालको पछिल्लो इतिहासकै अत्यन्त पीडादायी दिन बन्यो।
जेन्जी शहीदहरूका परिवारका लागि आन्दोलन कुनै राजनीतिक अध्याय मात्र होइन। त्यो आजीवन नभरिने घाउ बनेर बल्झिरहनेछ।
किन भएको थियो आन्दोलन ?
जेन्जी आन्दोलनको तत्कालीन कारण सामाजिक सञ्जालमाथिको प्रतिबन्ध थियो।
तर आन्दोलनको जरा त्यसमा मात्र सीमित भएन, त्यो आन्दोलन वर्षौँदेखि थुप्रिएको भ्रष्टाचारप्रतिको आक्रोशसम्म पुग्यो।
राजनीतिक नेतृत्वप्रतिको अविश्वास, बेरोजगारी, विदेशिन बाध्य युवाको पीडा, राज्यका अवसरमा पहुँचको असमानता, नेताका छोराछोरीको विलासी जीवनशैलीप्रति बढ्दो असन्तुष्टि।
‘नेपो बेबी’ अर्थात् राजनीतिक तथा शक्तिशाली परिवारका सन्तानप्रति सामाजिक सञ्जालमा बढिरहेको आक्रोश, यी सबै असन्तुष्टिले यो देश आखिर कसका लागि हो भन्ने एउटा ठूलो प्रश्न आम जनतामाझ जन्मिसकेको थियो।
सामाजिक सञ्जालमाथिको प्रतिबन्धले त्यही प्रश्नलाई सडकसम्म ल्यायो। सडकमा आएको असन्तुष्टि केही घण्टामै विद्रोहमा बदलियो।
भदौ २३ र २४ ले नेपालको राजनीतिक इतिहासमा एउटा ठूलो ‘प्याराडाइम सिफ्ट’ ल्यायो। राजनीतिक नेतृत्वमाथि प्रश्न उठ्यो, सरकार ढल्यो, परम्परागत दलहरूको शक्ति र विश्वसनीयता कमजोर भयो र राजनीतिमा नयाँ पुस्ताको आगमन भयो।
जेन्जी आन्दोलन पछिको देशको परिवेश
तर परिवर्तनसँगै एउटा अर्को विषय पनि उजागर भएको छ। आक्रोशलाई परिवर्तनमा बदल्न सजिलो छ, परिवर्तनलाई संस्थागत गर्न कठिन। सडकमा हजारौँ युवा उत्रिए भने सरकार ढाल्न सक्छन्, सत्ता परिवर्तन गर्न सकिन्छ, तर देशको शासन प्रणाली, राजनीतिक संस्कार, भ्रष्टाचार र जवाफदेहिताको संस्कृति बदल्न अझ ठूलो परीक्षा आवश्यक हुन्छ भन्ने विषय नयाँ सरकारको पछिल्लो गतिविधिका कारण यदाकदा महसुस भइरहेको छ।
आज जेन्जी आन्दोलन भएको एक वर्ष पूरा भएको छ। एक वर्षअघि सडकमा उत्रिएका युवाहरूले परिवर्तन मागेका थिए, कसैले सत्ता मागेका थिएनन्, कसैले पद त बिल्कुलै मागेका थिएनन्स उनीहरूले मागेका थिए जवाफदेही शासन, भ्रष्टाचारमुक्त व्यवस्था र अवसरमा समान पहुँच।
प्रश्न अझै उस्तै
तर आज, एक वर्षपछि ती मागहरू कति पूरा भए ? जेन्जी आन्दोलनले केवल सत्ता परिवर्तन गर्यो कि सत्ताको चरित्र पनि परिवर्तन गर्यो ? राजनीतिक पात्र फेरिए कि राजनीतिक शैली पनि फेरियो ? नयाँ भनिएका शक्तिहरूले सडकमा ज्यान गुमाएका युवाको सपना बुझे कि बिर्सिए ?
जसले आफ्नो भविष्यको बलिदान दिए, के उनीहरूको परिवारले आज राज्यबाट न्याय र सम्मान पाएका छन् ? र सबैभन्दा ठूलो प्रश्न, जसको रगतले परिवर्तनको बाटो खोल्यो, त्यही पुस्तालाई फेरि निराश बनाइँदै त छैन ?
देश बनाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा छ। अब उनीहरूले केवल सरकार चलाउने होइन, विश्वास चलाउनुपर्नेछ, केवल सत्ता सम्हाल्ने होइन, व्यवस्था सुधार्नुपर्नेछ, नयाँ अनुहार देखाउने मात्र होइन, नयाँ राजनीतिक संस्कार स्थापित गर्नुपर्नेछ।
किनकि जेन्जी आन्दोलनको सबैभन्दा ठूलो परीक्षा आन्दोलन सकिएको दिनदेखि नै सुरु भएको हो। सडकमा ज्यान गुमाएका ७६ युवाको सपना पूरा भयो कि भएन भन्ने प्रश्नको उत्तर इतिहासले दिनेछ।
तर इतिहासले अर्को प्रश्न पनि सोधिरहनेछ— भदौ २३ र २४ मा जलेको नेपालबाट नयाँ नेपाल बन्यो कि केवल नयाँ शासक आए ? समयसँगै आगो निभ्ला, खरानी हट्ला, भत्किएका संरचना फेरि बन्लान्, तर त्यो दुई दिनको पीडा र युवाको बलिदानले छोडेको प्रश्न— अब देश बन्छ ? यो प्रश्न भने अझै जीवित छ।