काठमाडौं । अष्ट्रेलियाले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी संसदीय अनुसन्धानका क्रममा ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईलाई सिनेटसमक्ष उपस्थित हुन बोलाएको छ ।
अष्ट्रेलियाको सरकारी मेडिकेयर प्रणालीको एक पोर्टलमा ओपनएआईको कृत्रिम बौद्धिकता प्रणालीले अनधिकृत पहुँच बनाएको घटना सार्वजनिक भएपछि संसदीय अनुसन्धानमा यो विषयलाई समेत समेटिएको हो । सिनेटको सार्वजनिक सुनुवाइ अक्टोबर १ मा क्यानबेरामा हुने प्रस्ताव गरिएको छ ।
अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजीका अनुसार गत जुनमा ओपनएआईको एक कृत्रिम बौद्धिकता प्रणालीले मेडिकेयरको तथ्यांकसम्बन्धी पोर्टलका सार्वजनिक तथा गैरसार्वजनिक फाइलमा अनधिकृत पहुँच बनाएको थियो । तर अहिलेसम्म बिरामीको व्यक्तिगत स्वास्थ्यसम्बन्धी विवरणमा पहुँच पुगेको प्रमाण फेला नपरेको सरकारले जनाएको छ ।
घटनाबारे सरकारी निकाय र ओपनएआईको अनुसन्धान जारी छ । ओपनएआईले पनि उक्त गतिविधि जानाजानी नगरिएको र प्रारम्भिक अनुसन्धानमा निजी जानकारी प्रभावित भएको प्रमाण नदेखिएको जनाएको छ ।

सिनेट सुनुवाइमा कृत्रिम बौद्धिकता प्रणालीको सुरक्षा, तथ्यांकमा पहुँच, निगरानी, घटनाको जानकारी दिने प्रक्रिया र कम्पनीहरूको जवाफदेहितालगायत विषयमा प्रश्न उठ्ने अपेक्षा गरिएको छ । अल्टम्यान र अमोडेई स्वयं सुनुवाइमा उपस्थित हुने वा नहुने भने स्पष्ट भइसकेको छैन ।
