काठमाडौं । चाडपर्वको समयमा आम उपभोक्तालाई सहज तरीकाले सस्तो मूल्यमा गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गरिएको साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी मोहन थापाले बताएका छन् ।
दैनिक उपभोग्य खाद्य सामग्री सहुलियत, सहज र सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराउनु नै प्रमुख लक्ष्य हो, उनले भने ।
उनका अनुसार काठमाडौं उपत्यकाका १३ स्थान र उपत्यका बाहिरका विभिन्न जिल्लाहरू गरी देशभर जम्मा ४१ स्थानबाट उपभोक्तालाई सहुलियत मूल्यमा नुन, चिनी, गेडागुडी, तेल लगायतका खाद्यान्न बिक्री वितरण भइरहेको छ ।
सुपथ मूल्य पसलमा नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, दाल, तेल, चिउरा र मैदामा ७ रुपैयाँ छुटको व्यवस्था रहेको पनि सूचना अधिकारी थापाले जानकारी दिए । यद्यपि नुन प्रति परिवार ६ केजी र चिनी पनि प्रति परिवार ६ केजी मात्र उपलब्ध गराइँदै आइएको छ ।
साथै साल्ट ट्रेडिङले भविष्यमा पूर्वका सामानहरू पश्चिम दुर्गमतिर दिने र दुर्गमका सामानहरू ल्याएर पूर्वमा बेच्ने योजनामा रहेको उनले बताए ।

बजारमा चिनीको अभाव भएको हो भन्ने प्रश्नमा थापाले, बजार नियन्त्रणको हिसाबले अहिले ठिक रहेको बताए र यद्यपि बजारमा भने चिनी अभाव भएको भन्दै मूल्य आकाशिएको छ ।

उनले भने, ‘इन्डियाले नेपाललाई चिनी दिन नसक्दा बिचमा अभाव जस्तो भएको थियो तर अहिले भने सहज छ । बजार नियन्त्रणको हिसाबले ठिक छ । अनुगमन गर्ने जिम्मा सरकारको हो, सरकारले हामीसँग पनि डाटा लिइरहेको छ र अनुगमन पनि गरिरहेको छ ।’

सुपथ मूल्य पसलहरू सार्वजनिक बिदा तथा शनिबारका दिन समेत बिहान ९ बजेदेखि साँझ साढे ५ देखि ६ बजेसम्म खुला रहने कर्पोरेसनले जनाएको छ। बिक्री केन्द्रहरूको विस्तृत ठेगाना र विवरण साल्ट ट्रेडिङको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालको आधिकारिक पेजमा राखिएको छ।