काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आजदेखि देखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।
बैंकले प्रतिकित्ता सय रुपैयाँका दरले हाल कायम रहेको चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । हाल कित्ता सेयर हुनेले थप नयाँ १ कित्ता सेयरमा आवेदन दिन पाउनेछन् ।
बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद सेयर निष्कासन गरेको बैंकले भदौ ९ गते बुकक्लोज गरिसकेको छ । भदौ ८ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिन पाउनेछन् ।
हकप्रद निष्काशनका लागि इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा धेरै उच्च जोखिम रहेको संकेत गर्दछ।
बैंकको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा कार्यालय तथा नारायणी डेभलपमेन्ट बैंकको मुख्य कार्यालय, यज्ञपुरी शाखा, टाँडी शाखा, पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन् ।
यस्तै नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । हाल बैंकको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन पछि ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS