काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीको पदाधिकारीस्तरीय बैठक हालै सम्पन्न भएको छ।
पूर्वगृह राज्यमन्त्री रिजवान अन्सारीको नेतृत्वमा बसेको यो बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकको मुख्य एजेन्डामध्ये सिरहा जिल्लाकी रिंकुकुमारी सदाको बलात्कार र हत्याको घटनामा न्यायका लागि पार्टीले सशक्त रूपमा पहल गर्ने निर्णय गरेकाे छ ।
सिराहाको नवराजपुर गाउँपालिका–१, भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा गत माघ ३० गते आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धान र स्थानीय स्रोतका अनुसार, माघ २७ गते राति रिंकु शौच गर्न घरबाहिर निस्किँदा उनलाई सामूहिक बलात्कार गरिएको खुलेको छ।
घटनापछि गाउँमा पञ्चायती बैठक बसेको र पीडकहरूलाई जरिवाना तिराएर घटनालाई प्रहरीसम्म पुग्न नदिने षड्यन्त्र रचिएको स्थानीयले बताएका छन्।
नेपाल संघीय समाजवादी पार्टीको बैठकमा यो घटनालाई गम्भीरतापूर्वक लिएर छलफल गरिएको थियो। बैठकले रिंकु सदा प्रकरणमा दोषीहरूलाई कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन सशक्त रूपमा आवाज उठाउने निर्णय गरेको छ। पार्टीले यो घटनालाई केवल एक व्यक्तिको पीडाको रूपमा नभई समाजमा व्याप्त लैंगिक हिंसा र उत्पीडनको प्रतिनिधि घटनाको रूपमा हेरेको छ।
बैठकमा बोल्दै पूर्वगृह राज्यमन्त्री रिजवान अन्सारीले भने, रिंकु सदा जस्ता छोरीहरूले न्याय नपाउने हो भने हाम्रो समाज र कानुनी व्यवस्थाको औचित्य के रहन्छरु हामी यो मुद्दालाई सडकदेखि संसदसम्म पुर्याएर न्याय दिलाउन प्रतिबद्ध छौं।
FACEBOOK COMMENTS