ललितपुर । ललितपुरको ढोलाहिटीस्थित अनल ज्योति स्कुलले आफ्नो वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयको प्राङ्गणमा शनिबार आयोजित उक्त कार्यक्रम विद्यालयकी प्रिन्सिपल जीतकुमारी रानाको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’ थिए । साथै, समाजसेवी प्रियकुमार नेम्वाङ, वरिष्ठ पत्रकार एवं साहित्यकार सरोज ओझा, सञ्चारकर्मी राजु भट्टलगायतका विशिष्ट व्यक्तित्वहरू विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी थिए ।
कार्यक्रमको शुभारम्भ विद्यार्थीहरूले प्रस्तुत गरेको स्वागत नृत्यबाट गरिएको थियो । विद्यालयका छात्रछात्राहरूले विविध सांगीतिक एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे, जसमा नेवारी, कौडा, तामाङ सेलो, साकेला, थाली, राइम्स तथा चिनियाँ गीतमा नृत्य समावेश थिए । यस्तै, उनीहरूले र्याम्प वाक, नाट्य प्रस्तुति, तेक्वान्दो कला प्रदर्शन, योग अभ्यास तथा सांगीतिक धुन प्रस्तुति समेत दिएका थिए ।
विद्यालयकी कोअर्डिनेटर सुमनकुमारी साहको नेतृत्वमा विद्यार्थीहरूले कार्यक्रम सञ्चालन गरेका थिए । विद्यालयकी प्रधानाध्यापक जीतकुमारी रानाले आमन्त्रित अतिथिहरूलाई खादा तथा व्याच प्रदान गरी स्वागत गरिन् ।
११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित वार्षिक कार्यक्रमका क्रममा विद्यालयलाई विशुद्ध रूपमा सघाउँदै आएकी सामाजिक व्यक्तित्व सुभद्रा राईसहित आफ्ना पूर्वविद्यार्थी तथा पूर्वशिक्षकहरूलाई विद्यालयले सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो । साथै, कार्यक्रममा प्रमुख अतिथि राईले विद्यालयद्वारा प्रकाशित स्मारिकाको विमोचन रेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदीपकुमार राई ‘व्याकुल माइला’ ले अनल ज्योति स्कुललाई प्रतिष्ठित शैक्षिक संस्था भन्दै यसले सक्षम तथा कर्मठ नागरिक उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे । साथै, उनले विद्यालयका बालबालिकाहरूको प्रस्तुति समावेशी रहेको बताउँदै विद्यालय परिवार समाजमा मजबुत रहेको स्पष्ट सन्देश दिएको बताए ।

त्यसैगरी, समाजसेवी प्रियकुमार नेम्वाङले विद्यालयकी संस्थापक ज्योति केसीको सामाजिक एवं शैक्षिक योगदानको प्रशंसा गर्दै उनको भूमिकाले समाजमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। साथै उहाँले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार सरोज ओझाले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्ने उल्लेख गरे । साथै, उनले विद्यालयको नेतृत्व लिइहेका ज्योति केसी र जीतकुमारी रानाको प्रयासले महिलाहरू सक्षम छन भन्ने प्रमाणित गरेको बताउँदै विद्यालयको उत्कृष्ट नतिजाका लागि विद्यालय परिवारलाई धन्यवाद दिए ।
विद्यालयकी संस्थापक एवं निर्देशक ज्योति केसीले शैक्षिक विकासमा योगदान दिने उद्देश्यले तीन दशकअघि अनल ज्योति स्कुलको स्थापना गरिएको बताउँदै विद्यालयले किताबी ज्ञान मात्र नभई अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै जोड दिएको उल्लेख गरिन् । साथै, विद्यालयको सफलतामा शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको अमूल्य योगदान रहेको स्मरण गरिन् ।
अनल ज्योति स्कुलले बालबालिकाहरूको शिक्षा तथा समग्र विकासमा निरन्तर योगदान दिँदै आएको छ । विद्यालयमा पारिवारिक वातावरणका साथ अत्याधुनिक प्रविधिको प्रयोग गर्दै कक्षा १० सम्म अध्ययन गराइन्छ । साथै, छात्रावास सुविधासहित विभिन्न प्रकारका अपांगता भएका विद्यार्थीहरूले समेत यस विद्यालयमा अध्ययन गरिरहेका छन।
विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै शैक्षिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमा निरन्तर संलग्न रहँदै आएको छ । विद्यालय परिवारले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।