काठमाडाैँ । चालु आर्थिक वर्षको चार महिनामा करीब ८४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको चौमासिक अवधि (साउनदेखि कात्तिक) सम्ममा सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड रुपैयाँ थपिएको हो । कात्तिक मसान्तसम्म सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको आधारमा ४४।१४ प्रतिशत सार्वजनिक ऋण पुगेको छ ।
सरकारले यस अवधिमा १ खर्ब ६५ अर्ब ७१ करोड रुपैयाँ थप सार्वजनिक ऋण लिएको छ । यो अवधिमा सावाँ र ब्याजमा मात्र १ खर्ब ८ अर्ब १४ करोड खर्च गरेको छ । यो तथ्यांक हेर्दा सरकारले चार महिनामा उठाएको रकममध्ये आधाभन्दा बढी हिस्सा ऋण तिर्नमा ठिक्क भएको देखिन्छ ।
सो अवधिसम्म सरकारको तिर्न बाँकी ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ रहेको छ । यो रकम असोज मसान्तसम्मको तिर्न बाँकी ऋणको तुलनामा ४ अर्ब ९८ करोड कम हो । असोज मसान्तसम्म सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।
आर्थिक वर्ष २०८०\०८१ को अन्तिमसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । पहिलो चौमासिकसम्म आइपुग्दा खुद सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड थप भएर २५ खर्ब १८ अर्ब ५ करोड पुगेको हो । कात्तिक मसान्तसम्म आन्तरिक ऋण १२ खर्ब ५२ अर्ब १६ करोड र वाह्य ऋण १२ खर्ब ६५ अर्ब ८९ करोड रहेको छ ।
सरकारले चालु आर्थिक वर्षभरि ५ खर्ब ४७ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण लिने लक्ष्य राखेकोमा कात्तिकसम्म १ खर्ब ६५ अर्ब ७१ करोड रुपैयाँ ऋण लिएको छ । यो अवधिसम्म ८६ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरेको छ । यस वर्ष सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक र २ खर्ब १७ अर्ब रुपैयाँ वाह्य ऋण उठाउने लक्ष्य राखेको छ ।
FACEBOOK COMMENTS