काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।
धादिङ क्षेत्र नं. २ बाट खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित थापामगरले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय थापामगरका थुप्रै गीत चर्चित छन्।
उनको ‘ए आमा जाम भन्यो मलाई’ बोलको गीत युट्युबमा झन्डै चार करोडपटक हेरिएको/सुनिएको छ। उनी दोहोरीगीत प्रतिष्ठानको दुई दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष हुन्।
उम्मेदवारी घोषणा गर्दै थापामगरले कांग्रेसको इतिहास, संघर्ष र आदर्शलाई आत्मसात् गर्दै युवा पुस्ता र महिलाको सम्मानजनक सहभागिता, अवसर र नेतृत्वलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाएकी छन्।
