काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका छन् ।
उनलाई वासिङ्टन, डी.सी.मा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीहरूले स्वागत गरे ।
भ्रमणका क्रममा मन्त्री वाग्लेले नेपालको आर्थिक साझेदारी र सहयोगलाई सुदृढ बनाउने उद्देश्यका साथ सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ द ट्रेजरी) र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्नेछन् ।
भेटवार्ताका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, एफएटीएफ ग्रे लिस्टबाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विविध विषयमा छलफल हुनेछ ।
छलफल र भेटवार्ताका क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैङ्क तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग कुराकानी हुनेछ ।

साथै सडक, विद्युत् प्रसारण लाइन लगायतका महत्त्वपूर्ण पूर्वाधारमार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको छ ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च पदस्थ अधिकारीका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
