काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित ७ सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ आईपुग्नु भएको छ ।
(नेपाल–चीन) कोरला नाका सम्बन्धी जानकारी लिने उद्देश्यले चिनियाँ राजदूत चाङ कोरला नाकाबाट उपल्लो मुस्ताङको लोमान्थाङ आइपुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो ।
टोलीमा नेपालका लागि चिनियाँ राजदूतसहित ५ जना चिनियाँ टोली र २ जना नेपालस्थित चिनियाँ दूतावासका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभएको छ ।
आज लोमान्थाङबाट जोमसोम आईपुग्ने र नेपाल र चीन समकक्षीबीच कोरला नाकासम्बन्धी बैठक बस्ने तयारी छ । भ्रमणको तेस्रो तथा अन्तिम दिन भोलि राजदूत चाङ लोमान्थाङबाट कोरला नाका हुँदै चीन फर्किने योजना छ ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङकाअनुसार कोरला नाकालाई पूर्ण रुपमा खोल्न र नाकाको समग्र अवस्था बुझ्न राजदूतसहितको भ्रमण महत्वपूर्ण रहेको छ । गएको भदौ १० गतेको भोटेकोशी बाढीले रसुवागढी–केरुङ नाका पूर्ण रुपमा बन्द छ । यस्तै, उत्तरी चीनतर्फको तातोपानी नाका पनि पूर्ण रुपमा बन्द अवस्थामा छ ।

यस्तोमा नेपालका लागि–चिनियाँ राजदूतसहितको मुस्ताङ भ्रमणलाई महत्वका साथ हेरिएको छ । नेपाल–चीन उत्तरी कोरला नाका वैकल्पिक नाकाका रुपमा रहेको छ ।
