काठमाडौं । वर्षा सुरू भएसँगै प्रमुख सडक अवरुद्ध हुने क्रम सुरू भएको छ । नेपाल प्रहरीको आज बिहीबार बिहान ९ बजेसम्मको अपडेटअनुसार हाल देशका प्रमुख ६ सडक पूर्ण रूपमा अवरुद्ध छन् भने पाँच सडक एकतर्फी सञ्चालनमा छन् ।
हाल सिन्धुपाल्चोकको भोटेकोशी–२ कोदारीमा पहिरोका कारण अरनिको राजमार्ग सडक पूर्ण रूपमा अवरुद्ध छ । त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी–३ को लार्चामा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । त्यसैगरी, सिन्धुपाल्चोककै भोटेकोशी–२ को कोप्लाङमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
त्यस्तै, आज नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउदा पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । त्यसैगरी, म्याग्दीको अन्नपूर्ण–३ रूपसेमा पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । त्यसैगरी, डोल्पाको त्रिपुरासुन्दरी–१ को छलघाटमा बाढी आउदा भेरी कोरिडोर पूर्ण रूपमा अवरुद्ध छ ।
त्यस्तै, धनकुटाको रवि–राके–भेडेटार सडक, काभ्रेको बीपी राजमार्ग, चितवनको नारायाण–मुग्लिन सडकखण्ड, गुल्मीको कालीगण्डकी करिडोर, जुम्लाको जुम्ला–मुगु सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा छन् ।
FACEBOOK COMMENTS