बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट वडा नं ८ कुइनेमङ्गले जोड्ने सडक करिब साढे दुई महिनापछि सञ्चालन भएको छ ।
कुइनेमङ्गलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्डअन्तर्गत चिमखोलाको मालाङमा गएको पहिराले सडक अवरुद्ध भएको थियो । पहिरो ठूलो भएकाले वर्षात् नरोकिँदा सडक सञ्चालन हुनसकेको थिएन ।
वर्षा कम हुँदै गएपछि अवरुद्ध भएको सडकलाई यस क्षेत्रमा निर्माणाधीन तीनवटा जलविद्युत् आयोजनाबाट डोजर परिचालन गरी मर्मत गरेर अस्थायीरूपमा सवारीसाधन आवतजावत गर्न थालेको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए ।
पहिरोमा सडकको ‘ट्रयाक’ बनाइएकाले वर्षात् हुँदा पहिरो र ढुङ्गा खस्ने जोखिम रहेकाले यात्रु, सर्वसाधारण र सवारी चालकलाई सावधानी अपनाउन उनले आग्रह गरे । चिमखोला र कुइनेमङ्गले क्षेत्रमा निर्माणाधीन तुदी पावर लिमिटेड प्रवर्द्धक रहेकोे राहुघाट मङ्गले, अपर राहुघाट र संयुक्त ऊर्जा प्रालिको ठूलोखोला जलविद्युत् आयोजनाले लगातार पाँच दिनसम्म चिमखोला र गौडामुनीतर्फबाट दुईवटा डोजर परिचालन गरेर पहिरो हटाएर सडक सञ्चालन गराएका हुन् ।
लामो समयदेखि सडक अवरुद्ध हुँदा कुइनेमङ्गले क्षेत्रमा बोलेरो, जिप, ट्रयाक्टर, ट्रकलगायतका सवारीसाधन रोकिएका थिए । सडक अवरुद्ध हुँदा कुइनेमङ्गलेका स्थानीय सडक सञ्जालको सम्पर्कबाट बिच्छेद भएका थिए भने स्थानीयस्तरमा उत्पादन भएको आलुको बजारीकरण र जलविद्युत् आयोजनाका निर्माण सामग्री ढुवानीमा समस्या भएको थियो ।
FACEBOOK COMMENTS