रोजल शाही
संस्थापक, रिगल फिटनेस क्लब (कमलपोखरी)
म्युजिक भिडिओहरूमा मोडलिङ गरेर जीवनको व्यावसायिक यात्र सुरू गरेका युवा व्यवसायी रोजल शाही हाल काठमाडौंको कमलपोखरीमा अवस्थित रिगल फिटनेस क्लबका संस्थापकका रूपमा कार्यरत छन् । कमलपोखरीमै अवस्थित सिटी सेन्टरको व्यवस्थापन प्रमुख भएर करिब आठ वर्ष काम गरेका रोजलले अहिले त्यही भवनको ठूलो क्षेत्रफलमा जिमखाना सञ्चालन गरिरहेका छन् ।
सिटी सेन्टरको म्यानेजमेन्ट हेड रहँदारहँदै उनले इभेन्ट म्यानेजमेन्टको फ्रिलान्सिङ कामहरू पनि गरे । तिनै काम गर्दागर्दै बडी विल्डिङमासमेत जोडिएका उनी केही अग्रज दाजुहरूसँगको बसाइ र प्राप्त सल्लाहबाट जिम व्यवसायतर्फ मोडिएको बताउँछन् ।
साथसाथै आज भदौ १४ गते । उनै रोजल शाहीको अवधारणामा आज रिगल फिटनेस क्लबले काठमाडौंको मल्ल होटेलमा एकदिने ‘नेपाल फिटनेस एक्स्पो, २०२५’ गरिरहेको छ । खासगरी फिटनेस एक्स्पोका सन्दर्भ पारेर हामीले नेपालमा जिमखानाको अवस्था, भविष्य र उपयोगितालगायत विषयमा केन्द्रित रहेर रोजल शाहीसँग केही उपयोगी कुराकानी गर्ने प्रयास गरेका छौँ । प्रस्तुत छ, रोजल शाहीसँगको फिटनेस वार्ता–
रिगल फिटनेटसको स्थापना कहिले र कसरी हुन पुग्यो ?
सन् २०१८ मा बज्र फिटनेस भनेर स्थापना भएको कम्पनीलाई हामीले पछि रिगल फिटनेसमा परिवर्तन गरेका हौँ । यो कम्पनी स्थापना भएको करिब ६ वर्ष भयो ।
नेपालमा फिटनेस मार्केट कस्तो छ ?
नेपालको फिटनेस मार्केट बल्ल ‘ग्रोइङ स्टेज’मा छ । हुन त पहिला पनि ग्रोइङ नै थियो, तर पछिल्लो समय मानिसहरू ‘हेल्थ कन्सियस’ हुन थालेपछि यसको मार्केट विगत एक वर्षयता ह्वात्तै बढिरहेको अवस्था छ ।
फिटनेस सेन्टर खोल्न ठूलै लगानी गर्नुपर्ने हुन्छ । त्यस्तो ठूलो लगानी गर्ने वातावरण छ कि छैन ?
लगानी त ठूलै हुन्छ । तर, मेहनत गर्ने हो भने वातावरण पर्याप्त छ । मेरो कुरा गर्नुहुन्छ भने पनि मसँग धेरै पैसा भएर यो रिगल फिटनेस क्लब खोलेको होइन, तर राम्रो योजना र गन्तव्य निर्धारण गर्न सक्ने हो भने सफलता अवश्य पनि मिल्छ ।
अहिलेको समयमा मान्छेहरूलाई फिटनेस किन आवश्यक छ ?
जसरी हामीलाई बिहानबेलुका खाना आवश्यक छ त्यो खानालाई पचाउनका निम्ति फिटनेस धेरै नै महत्वपूर्ण छ । पहिला–पहिला मानिसहरूलाई सोसल मिडियाको म्यासेजहरू थिएन र यसबारे कमै जानकारी थियो । पहिला खानाहरू अर्ग्यानिक हुन्थ्यो, प्रदुषण र विषादी हुँदैनथ्यो अर्थात् स्वास्थ्यका लागि असाध्यै राम्रो वातावरण थियो । तर, अहिले त्यो वातावरण हामीसँग छैन र त्यसको ठिक विपरीत भइरहेको छ । त्यसकारण प्रतिकुल वातावरणमा हाम्रो शरीरलाई स्वस्थ र तन्दरुस्त राख्नका लागि मानिसहरू फिटनेसको सहारा लिइरहेका छन् । ‘जिम गरौँ, स्वस्थ रहौँ’ भन्ने स्लोगन परिचित नै भइसकेको अवस्था छ ।
भनेपछि ठिक्क खाएर शरीरलाई सन्तुलन राख्ने कि टन्नै खाएर जिम गर्न जाने आफूले रोज्नुपर्ने भयो होइन त ?
मुख्य कुरा हामी नेपालीले खानामै कन्ट्रोल गर्नुपर्छ । हामी दालभातलाई पावर भनेर ग्रहण गरिरहेका छौँ । एउटा कोणबाट हेर्दा त्यो ठिकै पनि हो, तर चामलमा एकदमै धेरै ७५ देखि ८० प्रतिशतसम्म कार्बोहाइटेड पाइन्छ । त्यसलाई पचाउन शारीरिक व्यायाम वा सक्रियता आवश्यक पर्दछ । समग्रमा भन्ने हो भने हाम्रा भोजनहरू फिटिक्कै सन्तुलित छैनन् । त्यसकारण आफू रोगी हुनुभन्दा अगाडि नै फिटनेस सेन्टर जोइन गर्नुहोस् र सधैं निरोगी नै रहनुहोस् भन्ने मेरो आग्रह छ ।
मानिसहरूलाई स्वस्थ राख्न फिटनेस सेन्टरमा के–के गराइन्छ ?
कोही पनि मानिस स्वस्थ हुन जिम सेन्टरमा नै आउनुपर्छ भन्ने छैन । दैनिकरूपमा १०–१५ हजार स्टेप (पाइला) घरमै बसेर पनि गर्न सकिन्छ, फिटनेस सेन्टरसम्म आउन नसक्ने अवस्थामा । तर, फिटनेस सेन्टर आउनुभयो भने स्पष्टरूपमा गाइडेन्स पाउनुहुने छ । तपाइँको शरीरलाई आवश्यक पर्ने विभिन्न किसिमका जानकारी लिन पाउनुहुने छ र त्यसका लागि आवश्यक पर्ने मेशिनहरू पनि फिटनेस सेन्टरमा हुने भएकाले त्यो उपयुक्त हुन सक्दछ ।
यी सबै कामका लागि तपाइँको ‘रिगल फिटनेस’ सक्षम छ ?
अवश्य पनि सक्षम छ । हाम्रो ‘गोल’ भनेको सबैजना स्वस्थ रहनुहोस् भन्ने नै हो । त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री, ट्रेनर, ट्रेनरबिनै गर्न सकिने कामका लागि सिङ्गल मेशिन, २४ घण्टा नै ट्रेनरको सुविधा, स्वस्थ, सफा र आनन्ददायी वातावरण हामीसँग छ । साथै बजारमा हामीलाई चिन्ने भनेको ‘निट एण्ड क्लिन’ ले हो । किनकी हामी रिगललाई सधैं ‘निट एण्ड क्लिन’ राख्छौँ ।
रिगलले मानिसहरूलाई फिटनेस राख्न सिकाउने मात्रै नभइ फिटनेस सिकाउने प्रशिक्षकरू पनि उत्पादन गरिरहेको छ । त्यसबारे पनि जानकारी गराइदिनुहोस् न ?
करिब दुई वर्षअघि हामीले रिगललका अलावा ‘क्लासिक फिटनेस’ भनेर खोलेका छौँ । त्यसलाई हामीले फिटनेस एकेडेमीका रूपमा अगाडि बढाएका छौँ । जहाँ फिटनेसबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान सिकाइन्छ । त्यति कुरा सिकाइसकेपछि हामी ‘लेभल–फोर’को युरोपियन सर्टिफिकेट दिन्छौँ, जुन विश्वव्यापीरूपमै मान्यताप्राप्त छ । अहिले एउटा फिटनेस ट्रेनरले नेपालमै बसेर लाखौँ रूपैयाँ कमाइरहनुभएको छ । त्यही व्यक्ति त्यही प्रपोजका लागि विदेश जान पनि सक्ने हो भने अझै धेरै कमाइ गर्न सक्नुहुन्छ । त्यसका लागि यो सर्टिफिकेट महत्वपूर्ण छ ।
अहिले फिटनेस ‘साइन्स बेस’ भइसकेको छ । पहिलाको र अहिलेको तुलना गर्ने हो भने कतै पनि केही मिल्दैन । कुनै–कुनै व्यायाम उस्तै भए पनि अधिकांश साइन्स बेसमा गइसकेको छ । तपाइँको शरीरमा के चाहिने हो, सुगर वा प्रेसर (रक्तचाप) छ कि भनेर पहिचान गरिसकेपछि मात्रै न्यूट्रेशन र डाइट प्लान गर्दछौँ । त्यसपछि सर्टिफाइड पर्सनल ट्रेनिङ (सीपीटी) मा सबै नलेजहरू सिकाइन्छ । यसरी सिकाउने नेपालमा हामी (क्लासिक फिटनेस) मात्रै हौँ ।
अहिलेसम्म कति ट्रेनर उत्पादन गर्नुभयो र उहाँहरू कहाँ–कहाँ खपत भइरहनुभएको छ ?
अहिलेसम्म हामीले पाँच ब्याच पूरा गरिसकेका छौँ । एउटा ब्याचमा २५–३० जनासम्म हुनुहुन्छ । यो तीन महिने कोर्ष हो । अन्तर्राष्ट्रिय संस्थासँग जोडिएको कारण उसको नीतिसँग बाँधिएका कारण हामीसँग सीटहरू अत्यन्तै सीमित हुने गर्दछ, चाहेर पनि बढाउन सक्दैनौँ । जति जनाले यो क्लास लिनुहुन्छ उहाँहरूले परीक्षा दिएर उत्तीर्ण हुनुभएपछि मात्रै सर्टिफिकेट पाउनुहुने हो, प्रशिक्षक उत्पादन गर्ने संस्था भनेर ह्वार ह्वार उत्पादन गर्न मिल्दैन । हामीले प्रशिक्षकका लागि कक्षा सुरू गर्नुभन्दा अगाडि यही सर्टिफिकेट लिन मानिसहरू भारत, दुवई, सिङ्गापुरलगायत देशमा जानुपर्ने बाध्यता थियो ।
हामीले उत्पादन गर्ने प्रशिक्षकहरू देशभर विभिन्न ठाउँमा काम गरिरहनुभएको छ भने कतिपय विदेशसम्म पनि पुग्नुभएको छ । अहिले देशको कुनै पनि ठाउँमा फिटनेस प्रशिक्षक चाहियो भने हामीलाई नै फोन आउँछ । उहाँहरूले लेभल–फोर सर्टिफाइड ट्रेनरहरू पठाइदिनका लागि हामीसँग आग्रह गर्नुहुन्छ । हामीले यो ट्रेनिङ दिन थालेको करिब एक वर्ष भयो । यस अवधिमा पासआउट हुनुभएका ११ जना रिगल र क्लासिक फिटनेसमै आवद्ध हुनुहुन्छ । उहाँहरूले एक जना ग्राहकबाट प्रतिघण्टा ३५ हजारदेखि ४० हजार रूपैयाँसम्म (मासिकरूपमा) चार्ज गर्नुहुन्छ ।
जिम सेन्टरमा गएर गरिने क्रियाकलापले युवावस्था हुञ्जेल स्वस्थ रहन सकिने तर उमेर ढल्किदै गएपछि थप समस्या निम्तिन्छ भन्ने भ्रमहरू पनि समाजमा व्याप्त छ । खासमा कुरा के हो ?
अहिलेको ९० प्रतिशत खानेकुरा आर्टिसफसियल छन् । त्यस्तो खानेकुरा सेबन गरेको मान्छेको उमेर ढल्किएपछि समस्या स्वत: सृजना हुन्छ । त्यो समस्यालाई फिटनेसका क्रियाकलापसँग जोड्नु आवश्यक छैन । फिटनेस सेन्टर धाएकै मानिसहरू उमेर बुढो हुँदा पनि युवा देखिएको मैले पाएको छु । जति बाँचिन्छ हेल्दी भएर बाँचौँ भन्ने मान्यताका आधारमा मानिसहरूले जिम रोजिरहनुभएको छ ।
अहिले मानिसहरूमा शारीरिक भन्दा पनि मानसिक समस्या बढिरहेको देखिन्छ । जिम गर्ने मानिसले आफ्नो मानसिक समस्यालाई सन्तुलन गर्न पनि सक्छ ?
मज्जाले सक्छ, तर त्यो कुरा मैले शब्दमा भनेर तपाइँले पत्याउनु हुन्न । अनुभव तपाइँ स्वयम्ले गर्नुपर्छ । त्यसका लागि मैले तपाइँलाई नै अनुरोध गरेँ– तपाइँ पनि तनावरहित पक्कै हुनुहुन्न । कहिलेकाहीँ तनाव झनै बढ्छ । त्यस्तो बेलामा यहाँ आउनुहोस् । यसो हाफ फाइन्ट वा ट्रयाक सेट लगाएर आज जिम गर्छु भनेर आउनुहोस् र एक घण्टा जिम गर्नुहोस् । अनि त्यसपछि तपाइँले मलाई भन्नुहुने छ ‘साँच्चै हो रहेछ’ भनेर । यो मैले बनावटी कुरा गरेको होइन सत्य हो । जस्तोसुकै तनाव भए पनि जिमले बिर्साउँछ र मानसिलाई फ्रेस (पुनर्ताजगी) बनाउँछ । जिम सेन्टर छिर्दा नै तपाइँको आधा तनाव भागिसक्छ ।
तपाइँकै अनुसार नेपालमा फिनेस बजार बढिरहेको छ । यसर्थ प्रतिस्पर्धा पनि त बढिरहेकै होला । प्रतिस्पर्धी बजारमा रिगलको भावी रणनीति के के हुने छ ?
फिटनेस मार्केटमा भइरहेको ग्रोइङलाई म प्रतिस्पर्धाको रूपमा लिन्नँ । रिगल एउटा ब्राण्ड हो, सँगसँगै अरु जिमहरू पनि खुलिरहेका छन् । यसलाई मैले जिम सेन्टर बढेको भन्दा पनि मानिसहरू आफ्नो स्वास्थ्यप्रति चिन्तित र संवेदनशील भएको रूपमा लिएको छु । मानिसहरू जिमप्रति आकर्षित हुनु र आफ्नो स्वास्थ्यलाई सन्तुलित राख्न खोज्नु अत्यन्तै खुसीको कुरा हो । यसरी मानिसहरूमा बढेको यो संवेदनशीलतालाई रिगलले मात्रै त धान्न सक्दैन, भनेपछि अन्य जिम सेन्टरहरू त अवश्य पनि खुल्नुपर्यो नि । मेरो चासो भनेको हरेक नेपालीहरू स्वस्थ रहनुपर्छ भन्ने मात्रै हो । त्यसैले आजैदेखि होइन अहिल्यैदेखि जिम गर्न सुरू गर्नुहोस् ।
जिम गर्नेहरू मसल्स, मस्कुलर वा बडी विल्डर नै हुनुपर्छ भन्ने होइन, आफू स्वस्थ रहन जिम गर्ने हो । तपाइँ बलियो भए, तपाइँको स्ट्रेन्थ बढे, तपाइँको मोबिलिटी फ्लेक्जिबेल भइहाल्यो नि । त्यसकारण जिम गर्नु भनेको बडी विल्डिङ मात्रै होइन, बडी बनाउनैपर्छ भन्ने छैन । शरीर सन्तुलित राख्नु र बडी बनाउनु पूर्णरूपमा फरक पाटो हो । म स्वयम् पनि दैनिक जिम गर्छु तर मेरो शरीर जिम नगरेकैजस्तो देखिन्छ । कतिपयले त जिम सेन्टरको ‘वनर’ भएर आफैं जिम नगर्ने भनेर प्रश्न पनि गर्नुहुन्छ । तर, म भने बरु एक छाक खान्न जिम कहिल्यै छुटाउँदिन । जस्तोसुकै व्यस्त भए पनि समय निकालेर दैनिक जिम गरिरहेको छु ।
‘ब्यालेन्स डाइट’ अर्थात् सन्तुलित भोजनबारे यहाँको धारणा के छ ?
यो संसारमा ‘डाइट’ भन्ने शब्द कसले ल्याउनुभयो थाहा छैन, तर त्यो ‘टोटल्ली रङ’ छ भन्ने मेरो बुझाई छ । तपाइँ स्वस्थ रहन स्वस्थ खानेकुरा सेवन गर्दा पुगिहाल्छ । डाइट भनेको कुनै छुट्टै खानेकुरा होइन जुन खानेकुरा हामी दैनिकरूपमा सेवन गर्छौँ त्यसैलाई मिलाएर खाने हो । हामी जे खान्छौँ त्यो ‘लिमिट’ भन्दा धेरै वा थोरै भयो भने शरीरलाई हानी गर्छ । जिम गर्नका लागि शरीरमा धेरै प्रोटिन आवश्यक पर्छ तर त्यसलाई धेरै इन्टेक गर्यौँ भने पनि हानी गरिहाल्छ । त्यसकारण लिमिटमा खानुहोस्, लिमिटमा जिम गर्नुहोस् तपाइँको शरीर धेरै स्वस्थ हुन्छ ।
रिगललाई अन्य ठाउँमा पनि विस्तार गर्ने योजना छ ?
म जुन व्यवसायमा लाग्छु अत्यन्तै लगाव र मेहनतका साथ लाग्छु । रिगललाई अन्य ठाउँमा विस्तार गर्ने योजना छ । रिङरोडभित्रै ७–८ वटा होस् भन्ने चाहना छ । हामीले करिब ६ महिनाअघि मात्रै टेकुमा शाखा खालेका छौँ । अबको दुईदेखि तीन वर्षभित्रमा हामीले अर्को ३–४ वटा ठाउँमा एक्सप्लान्सन गर्नेछौँ । यी शाखा खुलेपछि हामी ‘मेम्बरसिप’को अवधारणामा गएर ग्राहकहरूलाई सहजता प्रदान गर्ने वातावरण निर्माण गर्छौँ । रिगलको कुनै एक शाखाले दिएको ‘मेम्बरसिप कार्ड’ जुनसुकै शाखा ‘भ्यालिड’ हुने बनाउँछौँ र आफूलाई अनुकुल पर्ने शाखामा गएर जिम गर्नसक्ने वातावरण बनाउँछौँ ।
दीर्घकालीनरूपमा सोच्दा नेपालमा फिटनेस व्यवसायको भविष्य कस्तो देख्नुहुन्छ ?
यो व्यवसायको भविष्य राम्रो छ । म यसबाहेक केही हस्पिटालिटी र अन्य व्यवसायमा पनि आवद्ध छु, तर मलाई यही व्यवसाय राम्रो लागिरहेको छ । नेपालमा बढ्दो स्वास्थ्य समस्याका कारण पनि यो क्षेत्रमा अझै धेरै व्यवसाय सञ्चालन गरी मानिसहरूलाई फिटनेस बनाउनुपर्ने अवस्था छ । किनभने अबको दुई–तीन वर्षपछि हरेक घरबाट जिम जाने परिस्थिति बन्नेवाला छ ।
यो व्यवसायमा देखिने चुनौती के–के हुन् ?
सबैभन्दा पहिला त क्यापिटलकै च्यालेञ्ज हुन्छ । किनकी यो सानो लगानीले गर्न सकिँदैन । ६०–७० लाखदेखि दशौँ करोड रूपैयाँसम्म लगानी आवश्यक पर्छ । मलाई लाग्छ यही नै हो यो क्षेत्रको चुनौती ।
यो पनि पढ्नुहोस्–
नेपाल फिटनेस एक्स्पो : फिटनेस व्यवसायको एक्स्पोजर र व्यापार आदानप्रदानका लागि हो (भिडिओ)
FACEBOOK COMMENTS