काठमाडौं । २०६२/०६३ मा भएको जनआन्दोलनबाट प्राप्त लोकतन्त्र र गणतन्त्रविरुद्ध पछिल्लो समय विभिन्न कोणबाट नकारात्मक टीकाटिप्पणी भइरहेका छन् ।
खासगरी नयाँ व्यवस्थाले पनि ‘जनताको जनजीविकामा कुनै सकारात्मक प्रभाव नपारेको’ भन्ने भाष्य सृजना गरी गणतन्त्र र सङ्घीयताविरुद्ध तीव्र प्रहार भइरहेको छ । यसरी विद्यमान व्यवस्थामाथि प्रहार गर्नेहरूमा राजावादी दलहरू सक्रिय भएका छन् ।
यसैक्रममा आज विद्यमान व्यवस्थाका विरुद्ध र राजाको पक्षमा राजावादीहरूले राजधानीमा ‘वृहत् मोटरसाइकल र्याली’ आयोजना गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको आह्वानमा भएको सो र्यालीमा पाँच हजार मानिसले सहभागिता जनाएको सन्तोष राजावादीले जानकारी दिए ।
उनले आजको मोटरसाइकल र्यालीलाई विद्यमान व्यवस्था समाप्त पारी राजासहितको प्रजातन्त्र स्थापनाको पूर्वतयारी भएको बताए । उनले भने, ‘अब हामी निर्णायक आन्दोलनको तयारीमा जुटेका छौँ, जनताको बलमै राजतन्त्र स्थापित गर्छौँ । त्यो दिन धेरै टाढा छैन ।’ गणतन्त्रले मुलुक र जनताको हित नगरेको भन्दै राजावादीहरूले राजतन्त्रको पुनर्वहालीलाई मुख्य एजेण्डा बनाएका छन् ।
काठमाडौंको बबरमहलमा भेला भई नारायणहिटी दरबारसम्म पुगेको राष्ट्रिय झण्डासहितको र्यालीमा ‘राजा आउ देश बचाउ’, ‘बाबुराम र ७० करोड मुर्दावाद’, ‘गणतन्त्र धोका हो’, ‘गणतन्त्र गन्हाइसक्यो’लगायत दर्जनौँ नारा लागेका थिए । उक्त र्यालीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन स्वयम् मोटरसाइकलको चालक सीटमा देखिए । ‘सुपर स्प्लेन्डर’ मोटरसाइकल चढेर उनी दरबारमार्गसम्म पुगेको सन्तोष राजावादीले जानकारी दिए ।
उनले तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रको भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई आगामी २५ गते काठमाडौंमा भव्य स्वागत गरिने र त्यो स्वागत कार्यक्रम आजको मोटरसाइकल र्यालीभन्दा कयौं गुणा ठूलो हुने दाबी समेत गरेका छन् ।
लोकतन्त्र र गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेको प्रमुख राजनीतिक दलका कतिपय नेताहरूले नै पछिल्लो समय गणतन्त्र र सङ्घीयताबारे विरोधाभाषपूर्ण अभिव्यक्तिहरू दिन थालेपछि राजावादीहरूको मनोबल बढ्दै गएको पाइन्छ ।
FACEBOOK COMMENTS